बट्टार । नुवाकोट जिल्लामा तेक्वान्दो खेल सुरू भएको गत मङ्गलबार ३३ वर्ष पूरा भएको छ । नुवाकोट तेक्वान्दो डोजाङको स्थापना विसं २०४७ फागुन २७ गते भएको थियो । यस वर्ष सो दिन खेलाडी विद्यालय जानुपर्ने भएकाले यही चैत २ गते शनिबार मात्र स्थापना दिवस मनाइएको तेक्वान्दो सङ्घ नुवाकोटका सचिव शरण घले पाख्रिनले बताउनुभयो ।

स्थापना दिवसका अवसरमा संस्थापक र अग्रज खेलाडीको स्मरण गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरूङका उपस्थितिमा भएको स्थापना दिवस कार्यक्रममा नुवाकोटबाट राष्ट्रिय र अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडीको सूची सार्वजनिक गरिएको थियो । हाल यो खेल जिल्लाभरि विस्तार भएको छ । डोजाङका अध्यक्ष रामहरि पाण्डेका सभापतित्वमा भएको कार्यक्रममा नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडीबारे जानकारी गराउनुभयो । नुवाकोटका मानबहादुर लामा र सङ्गीना वैद्यले ओलम्पिकमा, धु्रवबहादुर गुरूङ, महेन्द्र तामाङ र रमेशकुमार श्रेष्ठले एसियाली खेलकुदमा तथा राजु नगरकोटी, कृष्णबहादुर तामाङ, रामकुमार लामा, रेजिन रिमाल र वसन्त पाण्डे अन्य अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभएको थियो ।
नुवाकोटमा २० हजारभन्दा बढी तेक्वान्दो खेलाडी उत्पादन भइसकेको जनाइएको छ । तेक्वान्दो खेलका लागि विदुरको बट्टार, सूर्यगढी–३ को चोगदे र ४ हल्देमा कभर्ड हल छन् । सो कार्यक्रममा संस्थापक एवं नुवाकोट तेक्वान्दो डोजाङका उपाध्यक्ष हरिहर पाण्डेले जिल्लामा तेक्वान्दो खेलको विकास, विस्तार र हालको अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो । बट्टारमा कभर्ड हल बनाउन जग्गा प्रदान गर्ने सङ्घका संस्थापक अध्यक्ष धननारायण चित्रकारले खेलले अनुशासित, जागरूक र क्रियाशील नागरिक उत्पादन गर्ने भएकाले सरकारले यस क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा डेढ महिनाअघि मनोनित गुरूङलाई सो कार्यक्रममा स्वागत र सम्मान गरिएको थियो ।
प्रतिक्रिया