
विदुर । सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म हेडक्वार्टर नुवाकोटका आयोजनामा आगलागीसम्बन्धी घटनामा तत्काल परिचालन भई उद्धारका लागि विपद् पूर्वतयारीअन्तर्गत कृत्रिम अभ्यास सोमबार सम्पन्न भएको छ ।

विदुर-२ शेरास्थित पञ्चकन्या सामुदायिक वनमा सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सिप, कला तथा उपलब्ध स्रोत र साधनका माध्यमबाट छिटोछरितो रूपमा कसरी उद्धार गरी मानव जीवन तथा उनीहरूको भौतिक धनसम्पत्ति क्षति हुनबाट बचाउन सकिन्छ भन्ने उद्देश्यले कृत्रिम अभ्यास गरिएको गुल्मका सप्रनाउ रामकुमार खिउजुले जानकारी दिनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त प्रयासमा जिल्ला विपद् व्यवस्थापन समिति, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका सहकार्य र समन्वयमा आगलागीसम्बन्धी कृत्रिम अभ्यास सञ्चालन गरिएको हो ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जिल्ला विपद् व्यवस्थापन समितिका गतिविधि सम्बन्धमा र डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोख्रेलले वनको महत्त्व, वन सुरक्षा, वन डढेलोसम्बन्धी अपनाउनुपर्ने विधि तथा सामुदायिक वनको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । जिल्ला अस्पताल नुवाकोटको एम्बुलेन्ससहित उक्त अभ्यासमा गुल्मबाट सप्रनाउ खिउजुका नेतृत्वमा ३४ जनाको टोली खटिएको थियो ।