
पिपलटार । नुवाकोट जिल्ला, विदुर-५ तल्लो पिपलटारमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शय्याको अन्तरंग सेवा (अस्पताल) गत हप्तादेखि सञ्चालन गरेको छ ।
स्थापनाको करिब तीन दशकसम्म बहिरंग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा गत आइतबारदेखि सुरु गरेको अस्पतालको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरेका थिए । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन मुख्यमन्त्री तामाङले निर्देशन दिए । ‘आयुर्वेदिक सेवा रोगले आक्रमण गर्न सुरु गर्दाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभई निराश भएपछि मात्र आउने गरेको पाएको छु,’ उनले भने, ‘प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेकाले प्रचार–प्रसारमा जोड दिएर लक्षित वर्गसम्म पुर्याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।’

सो अवसरमा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले चिकित्सालयले आपूmलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । अस्पतालमा भौतिक संरचना, जनशक्ति, उपकरणसहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नेतर्फ लाग्न उनले निर्देशन दिए । कार्यालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले यसअघि बिरामीको स्वास्थ्य जाँच एवम् परीक्षणका आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब रोगीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटका सेवाग्राहीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने जानकारी दिए । उनका अनुसार चिकित्सालयबाट विशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत रोग परीक्षण, पञ्चकर्म/पूर्वकर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपंक्चर, प्रयोगशाला, निःशुल्क र सशुल्क औषधालयलगायत आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।
प्रदेश सरकारको नवीनतम कार्यका रूपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन, ६ महिनासम्मका सुत्केरीलक्षित दुग्धवद्र्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वास–प्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ । कोभिड-१९ महामारीका समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा, धादिङसहित आसपासका जिल्लाबाट हाल दैनिक एक सय बिरामीले बहिरंग सेवा लिँदै आएकाले अन्तरंग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिइएको छ ।