
विदुर । नुवाकोट र रसुवामा सञ्चालन हुने गरेर अहिलेसम्मकै ऐतिहासिक दौड प्रतियोगिता त्रिशूली अल्ट्रादौड आयोजना हुने भएको छ । नेपाल एडभेन्चर रनिङ महासङ्घको आयोजनामा यही चैत २३ गते बेलकोटगढी–१० बेलकोटस्थित निरञ्जना भगवती मन्दिरबाट दौड सुरु भएर नुवाकोट र रसुवाका विभिन्न स्थान हुँदै विदुर–५ देवीघाटस्थित जाल्पादेवी मन्दिरमा पुगेर सम्पन्न हुँदै छ । महिला र पुरुष दुवै विधामा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
विदुर नगरपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन सय खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताका विजेताले रु. एक लाख, दोस्रोले रु. ७५ हजार, तेस्रोले रु. ५० हजार, चौथोले रु. २० हजार, पाँचौँले रु. १० हजार र छैटौँदेखि दसौँसम्मले जनही रु. तीन–तीन हजार पाउनेछन् । दौड पुरानो सिँढीबाटो, मालकोट, सेरा, मुरलीटार, नुवाकोट दरबार, दारेगौँडा, फलाँटे, डाँडागाउँ, गेर्खु शान्तिकल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चारघरे, रणभुवनेश्वरी स्कुल, देवीघाट पुल हुँदै पवित्र तीर्थस्थल देवीघाटमा पुगेर समाप्त हुनेछ ।

इच्छुक खेलाडीले महासङ्घ सातदोबाटो, जिल्ला खेलकुद विकास समिति, नुवाकोट, बेलकोट युथ क्लब, होटेल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका एवम् लिखु र सूर्यगढी गाउँपालिका तथा रसुवाका उत्तरगया गाउँपालिका, जिल्ला खेलकुद समिति नुवाकोट र रसुवाको सहयोग रहने प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि रु. ३२ लाख ५१ हजार खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाइने महासङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद समिति नुवाकोटका अध्यक्ष विजय गुरुङ र रसुवाका अध्यक्ष विराज लोप्चन, महासङ्घका सचिव रवीन्द्र थापालगायतको उपस्थिति थियो । प्रतियोगितामा विदेशी खेलाडीलाई समेत सहभागी गराउन लागिएको छ । प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिइने र क्रमशः नुवाकोटको बेलकोटगढीबाट सुरु गरेर चीनसँगको सीमा रसुवाको रसुवागढीसम्म अथवा लाङटाङसम्म दौडाइने योजना बनाइएको आयोजकले बताएको छ ।
नुवाकोट र रसुवामा प्रतियोगिता सञ्चालन गर्न लागिएकाले यसलाई ऐतिहासिक रूपमा सफल बनाउन नुवाकोटमा रहेका सम्पूर्ण खेलसम्बन्धी सङ्घसंस्थाको सहयोग हुने पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष गुरुङले प्रतिबद्धता जनाए । प्रतियोगितामा कालोपत्र गरिएको सडक, सिँढी–ग्राभेल–धुलाम्य बाटो, वन तथा गोरेटो बाटोसमेत गरेर करिब ५६ किलोमिटरको दूरी रहने प्रतियोगिता रुट व्यवस्थापनमा प्राविधिक सहयोग पु¥याउँदै आएका बेलकोटनिवासी माधवप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन नाम दर्ताका लागि एकजनाको रु. तीन सय शुल्क तोकिएको छ भने सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइनेछ । काठमाडौँबाट आउने खेलाडीलाई यातायातसहित खानानास्ताको प्रबन्धसमेत मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङबाट हुने बताइएको छ ।