+
Search

ताजा अपडेट +

पपुलर +

डढेलो नियन्त्रणका लागि सचेतना

डढेलो नियन्त्रणका लागि सचेतना
त्रिशूली प्रवाह
२ महिना अगाडी

धुन्चे । रसुवा जिल्लामा वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । गर्मी तथा सुख्खायाममा वन डढेलोले हरेक वर्ष व्यापकरूपमा जनधनको क्षति तथा जैविक विविधताको विनाश हुने गरेकोले सचेतना सप्ताह सञ्चालन गरेको कार्यालयले बताएको छ ।

वन डढेलोबाट हुने क्षतिको प्रचारप्रसार गर्न वन डढेलो सचेतना सप्ताह गत फागुन २३ देखि २९ गतेसम्म पहिलो चरणको सञ्चालन गरिएको कार्यालयका वन डढेलो फोकल पर्सन विरबहादुर बोम्जनले जानकारी दिनुभयो । पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाको गोल्जुङ, थाम्बुचेत, चिलिमे, ग्रे गत्लाङ र डाँडागाउँमा वन डढेलो जनचेतना र र्‍याली, अन्तक्रिया, डढेलो नियन्त्रण सामाग्रीको प्रदर्शन तथा प्रचारप्रसार गरिएको थियो । उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, इको क्लब, सुरक्षाकर्मी तथा स्थानीय जनताको सहभागितामा सम्पन्न भएको डिभिजनल वन अधिकृत शम्भु तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वन डढेलोले वन तथा वन्यजन्तुलाई मात्रै असर नभई डढेलोले गाउँ वस्तीमा प्रवेश गर्न सक्ने र जनधनको समेत क्षति पुग्ने र मानव स्वास्थ्य तथा जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्‍याउँछ, यसमा सबैको जिम्मेवारी हुने डढेलो नियन्त्रण गर्न वन कार्यालय, सुरक्षा निकाय मात्रै जिम्मेवारी नभई प्रत्येक व्यक्ति, समुदाय र अन्य निकायको साथ र सहयोग आवश्यक रहने छ ।’’

कार्यालयले दोस्रो चरणको सचेतना कार्यक्रम अन्तर्गत रेडियो लाङटाङ र सामुदायिक वन उपभोक्ता महासंघ रसुवासँगको सहकार्यमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमुलक सडक नाटक गत्लाङ, थाम्बुचेत, धुन्चे, ठूलो हाकु, डाँडागाउँलगायतका स्थानमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह