समुन्द्रटार । एबिपी इनर्जीले बनाउने लागेको नुवाकोट, दुप्चेश्वर गाउँपालिकास्थित तादी घ्याङ्फेदी जलविद्युत् आयोजनामा सिद्धार्थ बैङ्कले लगानी गर्ने भएको छ । अठार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना आठ मेगावाटको रहने छ जुन निर्माणका लागि ऋण लगानी सम्झौता गत फागुन ६ गते भएको छ ।
गत बुधबार काठमाडौँमा इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र बैङ्कका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गर्नुभयो । करिब रू एक अर्ब ६४ करोड लागतको सो आयोजनामा कुल लागतको ७५ प्रतिशतले हुने रू.एक अर्ब २३ करोड दीर्घकालीन ऋणका लागि सम्झौता भएको कम्पनीले जनाएको छ । बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विसं २०८४ वैशाख ३१ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।आयोजना सञ्चालनमा आइसकेपछि जलपर्यटनबाट समेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का का महासचिव तथा आयोजनाका निर्देशक बलराम खतिवडाले बताउनुभयो । आयोजना गोसाइँकुण्ड जाने पदयात्रामा पर्छ । आयोजनाले बनाएका आवासगृहलाई घरबासमा परिणत गरी पर्यटकलाई सुविधा दिने बताइएको छ । विसं २०८१ असारमा विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएपछि सोही वर्ष भदौमै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । तिन हजार नौ सय मिटर पाइपलाइन रहेको आयोजनाको चार सय ४६ मिटर हेड छ । डिजाइन डिस्चार्ज दुई दशमलव दुई क्युसेक छ । वार्षिक चार करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले वार्षिक रू.२९ करोड आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाबाट सुख्खा याममा १५ दशमलव ९७ गिगावाट आवर र वर्षामा ३२ दशमलव ७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।
यो परियोजना अनुभवी प्रर्वद्धकको समूहले विकास गरिरहेको छ । कम्पनीको सञ्चालकमा इप्पानका महासचिव खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अलीलगायत हुनुहुन्छ । अध्यक्ष श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावरका पनि अध्यक्ष हुनाका साथै एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आबद्ध हुनुहुन्छ । त्यस्तै खतिवडा पनि एबिपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमि हाइड्रोपावर, बराह मल्टिपावर, एटलस इनर्जीलगायत कम्पनीका अध्यक्ष तथा निर्देशक हुनुहुन्छ भने अली प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुनुहुन्छ ।
प्रतिक्रिया