विदुर । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौँँबाट नुवाकोट हुँदै आफ्नो पुख्यौली थलो गोरखा जाने क्रममा र आइतबार फर्कने क्रममा नुवाकोटवासीले छहरे, थानसिंह, ढिकुरे, गँगटे र बट्टारमा सर्वसाधारणले न्यानो स्वागत गरे । उनको समर्थनमा व्यापक नाराबाजी पनि भएको थियो । सो क्रममा आइतबार गोरखाबाट फर्की बट्टार आइपुग्दा पूर्वराजाका कानमा एउटा अप्रिय नारा गुन्जियो । राजावादीकै भिडभित्रबाट एक महिलाले अनायास ‘ज्ञानेन्द्र शाह मुर्दावाद’को नारा लगाउन थालिन् । त्यसपछि उनी राजावादीको हुलहुज्जतमा पर्न सक्ने खतरालाई पूर्वराजाले नै टारिदिए ।

गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौँ फर्किने क्रममा आइतबार बेलुकी करिब सवा ५ बजे सो घटना भएको हो । आफैँ गाडी चलाएर आएका पूर्वराजा गल्छी, रातमाटे, देवीघाट, पिपलटार र गँगटेमा स्वागत लिँदै विदुर-४ स्थित होटेल वाटरटावरमा विश्रामका लागि रोकिएका थिए । त्यहाँ पहिल्यै सर्वसाधारणको ठुलो भिड जम्मा भइसकेको थियो । श्रीस्वस्थानी कथामा वर्णित लावण्यदेशमा गरिब परिवारका नवराज राजा भएको सुनेर मानिसहरू कोही भात खाँदा खाँदै, कोही आफ्ना सन्तानलाई रुवाउँदै राजा हेर्न गएजस्तै बट्टारमा हतार–हतार कोही बालबालिका बोक्दै, कोही मोटरसाइकलमा हस्याङफस्याङ गरी आएका थिए । थानकोटको बाटो जाम हुने सम्भावनाले राजाको टोलीले पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा पुग्न र त्यहाँबाट काठमाडौँ फर्कन टोखा–छहरे–गँगटेको बाटो रोजेको थियो । राजालाई गाडीबाट ओरालेर होटेलभित्र छिराउन अङ्गरक्षकलाई हम्मेहम्मे पर्यो। पत्रकार पनि बाक्लै सङ्ख्यामा आएका थिए । भिड पन्छाउँदै अङ्गरक्षकले राजालाई अगाडि बढाए भने पत्रकारले पछ्याउँदै फोटो खिच्न थाले । भिड पन्छाउने क्रममा अङ्गरक्षकले धकेल्दा एक महिला पत्रकारले आफूलाई जानाजान छोएकोे जिकिर गरिन् । ती पत्रकार र अङ्गरक्षकबिच विवाद भयो । राजा भने भित्र पसिसकेका थिए । होटेलबाहिर युवाले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’को नारा घन्काउन थाले । पूर्वराजा ढोकाभित्र बसेर सर्वसाधारणसँग भेट्न र तस्बिर खिच्न व्यस्त भए । बालबालिकादेखि वृद्धसम्म उनलाई भेट्न र फोटो खिच्न लाममा बसेका थिए । यता बाहिर विवाद हुँदै जाँदा अङ्गरक्षकले महिला पत्रकारको मोबाइल नियन्त्रणमा लिएको जिकिर गरियो । त्यसपछि महिला पत्रकारले नारा लगाउन थालिन् ज्ञानेन्द्र शाह मुर्दावाद । अनपेक्षित नारा लागेपछि त्यहाँ तनावको सम्भावना बढ्यो । राजाका अनुयायीले उनलाई घेरे । उनलाई नारा नलगाउन चेतावनी दिइयो । सुरक्षामा खटिएकाहरूले महिलालाई बाहिर जान आदेश दिए । तर, उनले मानिनन्, आफू राजासँगै कुरा गर्ने अडान लिइन् । पूर्वराजाले यो दृश्य देखेपछि महिलालाई भित्र आउन इसारा गरे । त्यसपछि सुरक्षाकर्मीले पनि अनुमति दिए । महिला नजिकै आएपछि पूर्वराजाले सोधे, ‘के भयो ? किन चित्त दुखाउनुभयो ?’ महिलाले आफ्नो मोबाइल खोसिएको गुनासो गरिन् । त्यसपछि पूर्वराजाले सोधे, ‘कसले खोस्यो ?’ उनले जवाफ दिइन्, ‘म पत्रकार हो, समाचारका लागि फोटो खिच्दै थिएँ, मोबाइल खोसिदिए ।’ कसले खोसेको हो आफूलाई याद नरहेको उनले बताइन् । पूर्वराजाले भने, ‘खोस्न त नहुने हो ।’ त्यसपछि उनले अङ्गरक्षकलाई मोबाइल खोजेर फिर्ता दिलाउन इसारा गरे र आफू होटेलभित्र छिरे । महिला पत्रकार भने सुरक्षाकर्मीले माफी माग्नुपर्ने बताउन थालिन् । त्यसपछि राजावादी उनीमाथि खनिए । उनीहरूले झोले पत्रकार भन्दै गालीगलोजसमेत गरे । केही समयमा उनको मोबाइल फिर्ता आयो । उनी शान्त भइन् । ती महिला पत्रकार रूपा अर्याल हुन् । अहिले राजाविरोधीले राजावादीबिचमै साहसी कार्य गरेको भन्दै उनको हाइहाइ गरिरहेका छन् । राजावादीले भने पत्रकार भएर राजनीतिक नारा लगाएकोमा आपत्ति जनाइरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार कुरिनटारमा बसी शनिबार गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा–अर्चना गरेका थिए । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीयवासीले स्वागत गरेका थिए । स्थानीयवासीको स्वागत ग्रहण गर्दै भेटघाट गरी ज्ञानेन्द्र शनिबार कुरिनटार बसेका थिए । आइतबार मनकामना मन्दिर पुगेर पूजाआजा गरी पूर्वराजा शाह पुनः नुवाकोट हुँदै काठमाडौँ फर्किएका थिए । थानकोट–नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणाधीन रहेकाले धुलो र जाम छल्नका लागि पूर्वराजाको सचिवालयले सामाखुसी–टोखा–छहरे हुँदै नुवाकोटबाट गल्छीमार्ग चलाएको थियो ।
प्रतिक्रिया