+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली-१ जलविद्युत् आयोजनाद्वारा प्रभावित हाकुवासीलाई एम्बुलेन्स प्रदान

त्रिशूली-१ जलविद्युत् आयोजनाद्वारा प्रभावित हाकुवासीलाई एम्बुलेन्स प्रदान
त्रिशूली प्रवाह
२ महिना अगाडी

धुन्चे । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित आमाछोदिङ्मो गाउँपालिकालाई सोमबार रु.२० लाख बराबरको एम्बुलेन्स प्रदान गरेको छ । साथै, रु.सात लाखबराबरको अन्य उपकरणसमेत प्रदान गरेको छ । बिमाअन्तर्गत रु.३० लाखबराबरको मेडिकल सामग्री (जसमा प्राथमिक उपचारका लागि) औषधि, गर्भवती जाँचका लागि भिडियो एक्सरेलगायतका अन्य उपकरण वितरण गरिएको आयोजनाले जानकारी दिएको छ ।

विपत्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरिएको आयोजनाले जनाएको छ । सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङ्मो गाउँपालिका-१ हाकुस्थित हाकु हेल्थपोस्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गर्ने तयारी गरेको आयोजनाले जानकारी दिएको छ । हेल्थपोस्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याई जीवनरक्षा गर्न ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले सोमबार हाकुमा आयोजित कार्यक्रममा एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरेका हुन् । सिइओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बिरामी र दुर्घटनाका घाइतेलाई अस्पताल पु¥याउनुभन्दा अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन सम्पन्न एम्बुलेन्स गाउँपालिकालाई प्रदान गरिएको बताए । ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिई उपलब्ध गराइएको एम्बुलेन्सबाट बिरामीलाई समयमा स्वास्थ्य सेवासम्म पुर्याउन एउटा कोसेढुंगा हुने विश्वास लिएका छौँ,’ उनले बताए । गाउँपालिकाका अध्यक्ष तामाङले विकास आयोजना स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिएमा मात्र सफल हुने बताउँदै आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावित हुने भएकाले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । एम्बुलेन्सबाट विकट एवम् दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब रु.१७ करोड खर्च गरिसकेको छ । एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आय–आर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका-१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली-१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो आयोजना हो । आयोजनाको मुख्य निर्माण वि.सं. २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तीव्रगतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत रहेको छ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली-३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबिच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मङ्सिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह