+
Search

ताजा अपडेट +

पपुलर +

मह दिवसमा चेतबहादुर सम्मानित

मह दिवसमा चेतबहादुर सम्मानित
त्रिशूली प्रवाह
२ महिना अगाडी

पिपलटार । १९औँ राष्ट्रिय मह दिवसका अवसरमा विदुर-५ देवीघाटका मौरीपालक चेतबहादुर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा र आधुनिक मौरीफर्म पिपलटारको आयोजनामा विदुर-५ पिपलटारमा गत बुधबार भएको मह दिवसमा उनी सम्मानित भएका हुन् । जिल्लाको सबैभन्दा पुरानो मौरीपालक श्रेष्ठले वि.सं. २०५३ देखि मौरीपालन गर्दै आएको नुवाकोट शाखाका अध्यक्ष भीम अधिकारीले बताए ।

कार्यक्रममा विदुर-५ का वडासदस्य होमबहादुर कुमाल, कृषि विकास कार्यालय नुवाकोटका बागवानी विकास अधिकृत प्रदीपचन्द्र नेपाल, नेपाल घरेलु उद्योग तथा साना उद्योग महासङ्घ नुवाकोटका सदस्य डा. सुदीप कोइराला, रेडियो भैरवीका अध्यक्ष देवचन्द्र भट्टलगायतले मौरी प्रवद्र्धन कार्यमा किसानलाई एकजुट भएर काम गर्न सल्लाह र सुझाव दिएका थिए । महासङ्घमा ६२ भन्दा बढी सदस्य आबद्ध रहेको सो अवसरमा बताइएको थियो । नुवाकोट, रसुवा र धादिङ जिल्लाका किसानको उपस्थितिमा भएको सो कार्यक्रमका सहभागीले मौरीपालनलाई सरकारले आर्थिक, प्राविधिक र प्रवद्र्धनमा सहयोग नगरेको गुनासो गरेका थिए । महासङ्घ जिल्लामा मौरीपालनको विकास र विस्तारमा लागिरहेको छ । जिल्लामा सरकारी अनुदान लिने व्यवसायी तीन सयभन्दा बढी भए पनि व्यवसाय गरिरहेकाको सङ्ख्या डेढ सय मात्र रहेको गुनासो किसान सुधा तामाङले गरिन् । केही वर्षदेखि मौरीपालन व्यवसायको रूपमा नुवाकोटमा विस्तार भइरहेको किसान राजु प्याकुरेल बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह