विदुर । अठ्सठ्ठिऔँ राष्ट्रिय सहकारी दिवस २०८१ का अवसरमा विदुर नगरपालिकाले आयोजना गरेको ‘मर्यादित सहकारी : समुन्नत समाज’ विषयक वक्तृत्वकलामा प्रतियोगितामा समृद्धि बचत तथा ऋण सहकारी संस्था लि. विदुर-९ की सुनिता तामाङ प्रथम हुनुभएको छ ।

वक्तृत्वकलामा द्वितीय तुप्चे साना किसान सहकारी संस्था लि. विदुर-७ की विजया तिवारी र तृतीय श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्थाका श्रीराम नेपाल हुनुभयो भने बच्छला बहुउद्देश्यीय सहकारी संस्था विदुर–७ का पुरूषोत्तम अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश : रु पाँच हजार, तिन हजार, दुई हजार र एक हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । नगरपालिकाभित्र कार्यक्षेत्र रही सेवा प्रदान गरिरहेका सहकारी संस्थाबाट प्रतिनिधित्व हुने गरी आयोजना गरिएको वक्तृत्वकलामा १३ सहकारीका सात पुरूष र छ महिला सहभागी थिए । सहभागीले विगत र हालको सहकारीको अवस्था तथा सहकारी ऐन, नियमावलीका बारे चर्चा गर्दै विभिन्न कार्यविधि अनुसरण गर्दै समाज रूपान्तरणमा सहकारी संस्थाको भूमिका मर्यादित हुनुपर्नेबारे प्रस्तुति व्यक्त दिएका थिए । वक्तृत्वकलाका मूल्याङ्कन समिति प्रमुखमा प्रशासकीय अधिकृत शुभाकर पौडेल तथा सदस्यमा लेखा अधिकृत प्रकाश बोगटी र शिक्षा अधिकृत नवराज सापकोटा रहनुभएको सहकारी शाखाका प्रमुख नानीमैयाँ नेपालले जानकारी दिनुभयो ।
प्रतिक्रिया