शिवपुरी । छहरे-टोखा सडकखण्डअन्तर्गत शिवपुरी-८, थानापतिमा स्थानीय व्यवसायी रामप्रसाद पुडासैनीले विभिन्न सहकारीबाट सङ्कलित दुध प्रयोग गरी दुग्धजन्य मिठाई उत्पादन तथा बिक्री सुरू गरेका छन् । साथै, उनले प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्गानिक खाजाघर सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गरिरहेका छन् ।

स्थानीय जागरूक कृषि सहकारी संस्थाबाट सङ्कलित ताजा दुधको प्रयोग गरी रसबरी, पेडा, बर्फी, कलाकन्द जस्ता परिकार उहाँले उत्पादन गर्नुभएको छ । गुणस्तर तथा स्वच्छतामा ध्यान दिंदै तयार गरिएका यी मिठाई उपभोक्तामाझ पछिल्लो समय लोकप्रिय समेत बन्दै गएको खाजाघर व्यवस्थापक बिमल पाण्डेले बताए । त्यसैगरी, कृषि सामग्री बिक्री केन्द्र तथा खाजाघरमा जैविक तरकारी, फलफुल, अन्न, मसला, कोदो, फापरबाट बनेको ढिडो तथा अन्य प्राङ्गारिक लोकल उत्पादन उपलब्ध छन् । खाजाघरमा यस सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दाका लागि पौष्टिक तथा स्वादिष्ट परिकार उपलब्ध छन् । पाण्डेका अनुसार यो व्यवसायले स्थानीय किसान, दुग्ध उत्पादक तथा सहकारी संस्थालाई प्रत्यक्षरूपमा फाईदा पुगेको छ । स्थानीय निकाय तथा कृषि व्यवसायीको सहकार्यमा सञ्चालन गरिएको यस परियोजनाले कृषि तथा दुग्ध व्यवसायलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरेको छ ।
गत सोमबार चैत १८ गते गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले शुभारम्भ गर्दै प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्गानिक खाजाघर सञ्चालनले वैदेशिक मानसिकता बोकेका युवालाई सकरात्मक सन्देश दिने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङले युवापुस्ताको यस्ता कार्यलाई प्रोत्साहन र पुरस्कृत गरिने बताउनुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला नेता पदम उप्रेती, वडाध्यक्ष केशवराज रिजाललगायत स्थानीयबासीको उपस्थिति थियो ।
प्रतिक्रिया