विदुर । सत्ता सञ्चालन गरिरहेको नेकपा एमालेले आगामी २०८४ सालमा हुने निर्वाचनमा बहुमत ल्याउने उद्देश्य बोकेर अधिराज्यव्यापी तीनमहिने वडाकेन्द्रित (जरा अभियान) चलाइरहेको छ । सो अभियानमा नुवाकोट पार्टी सङ्गठन विगतका तिक्ततालाई निमिट्यान्न पार्दै सक्रिय भइरहेको छ ।
गत चुनावयता सङ्गठन निर्माण र पार्टी परिचालनमा मिसन ग्रासरुटदेखि मध्यपहाडी सङ्कल्प यात्रा सम्पन्न गरेको एमाले यतिखेर पार्टीका तमाम विकृति र विसङ्गति अन्त्य गर्दै आगामी चुनावमा बहुमत हासिल गर्ने सन्देशसहित जरा अभियानमा केन्द्रित छ । विगतमा सम्पन्न सङ्घ, प्रदेशको निर्वाचन परिणामले कुनै पनि सङ्घीय र प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधित्व गर्न नसकेर अत्यन्त निराशाजनक परिणामबाट गुज्रिरहेको नुवाकोट एमाले स्थानीय तहको निर्वाचनको थप परिणामले नराम्रोसँग झस्किएको थियो । जिल्लामा नेतृत्वको हानथाप, अस्वस्थ प्रतिस्पर्धा, पार्टी कमिटीको तल्लो तहसम्म र पेसागत र जनसङ्गठनमा समेत गुटबन्दीका कारण नुवाकोट एमालेले आफ्नो भावी रणनीति बनाएर अगाडि बढ्न सकिरहेको थिएन ।
जिल्लाको संसदीय राजनीतिमा एमालेको कमजोर उपस्थिति रहेकाले केन्द्र र प्रदेशका नेताको ध्यान पार्टी कामको योजना तथा प्रभावकारी कार्यान्वयनमा खिचिरहेको छ । पछिल्लो समय नुवाकोटमा केन्द्रीय नेताहरूको उपस्थिति र कार्यक्रमको आयोजना बाक्लिन थालेबाट पनि यो कुराको पुष्टि हुन्छ । तथापि, एमालेको जिल्ला नेतृत्व तहले २०७९ को आमनिर्वाचनपछि केन्द्र र प्रदेशको योजना, निर्देशन र सहकार्यमा जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न र पार्टीले अवलम्बन गरेको रणनीतिलाई तल्ला तहसम्म पु¥याउन एमालेले विगतमा पनि ‘ग्रासरुट अभियान’ र ‘मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियान’ विभिन्न अभियानमा सहभागितालगायत आफ्नै योजना सञ्चालन गर्दै आएको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको थिएन ।
पार्टीको जराका रूपमा रहेका वडा, टोलस्तरका सङ्गठनलाई यथोचित ध्यान नदिएको, आधारभूत तहमा पार्टीको पकड गुम्दै गएको, कार्यकर्ता लाखापाखा लाग्न थाालेको र पार्टीमा स्वार्थकेन्द्रित प्रवृत्ति हाबी हुँदै गएकाले त्यसको निदानका लागि भन्दै एमालेको जरा–जरामा पुग्ने अभियानका रूपमा नुवाकोटमा पनि समकालीन राष्ट्रिय राजनीति, पार्टीको सरकार र आगामी रणनीतिक कार्यनीतिक रूपमा पार्टी कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले मंगलबार प्रशिक्षण कार्यक्रमका आयोजना गरेर कार्यकर्ताबिच एकता र प्रतिबद्धताको सन्देश दिने प्रयत्न गरेको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार तीन महिना पहिले सञ्चालन गरिनुपर्ने जिल्लास्तरीय अभिमुखीकरण एवम् प्रशिक्षणका आधारमा जिल्लाका सबै पालिका र वडा तहसम्म सञ्चालन गरिनुपर्ने वडाकेन्द्रित कार्यकम (जरा अभियान) समापन हुन केही दिन मात्र बाँकी रहँदा नुवाकोटमा भने भर्खरै अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । २६ गते सम्पन्न अभिमुखीकरण र प्रशिक्षण कार्यक्रमले ऊर्जा थपेको विदुर नगरपालिकाका पूर्वमेयर एवम् बागमती प्रदेश कमिटी सदस्य सञ्जु पण्डितले बताए । एमाले नवाकोट कमिटीले आयोजना गरेको जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, सबै पालिका कमिटीका पदाधिकारी, वडा पार्टी कमिटीका अध्यक्ष, निर्वाचित वडाध्यक्ष, जनसङ्गठनका जिल्ला पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एवम् पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समसामयिक राष्ट्रिय राजनीति, पार्टी र सरकारको भूमिका र आगामी कार्यभारबारे बताउँदै देशको अवस्था र स्थिति विगतको भन्दा बदलिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । त्यही काम गर्नका लागि एमालेले आउने चुनावमा एकल बहुमत मागेको उनले स्पष्ट पारे । गणतान्त्रिक शक्तिको लामो सङ्घर्षबाट यो व्यवस्था स्थापित भएको र यसमा एमालेको महत्वपूर्ण भूमिका रहेको उनले स्मरण गराए । उनले देश जोगाउने पार्टी एमाले भएकाले आमकार्यकर्ता र शुभेच्छुक एमालेविरोधी भुलभुलैयामा नलाग्न आग्रहसमेत गरे । ‘हाम्रो पार्टीलाई कसैले भित्तामा पु¥याउँछौँँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साह र समर्थनबाट स्पष्ट भइसकेको छ,’ उनले भने ।
प्रशिक्षणका विशेष अतिथि एवम् पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएको र यसले पार्टीमा अवसरवाद जन्मिएको बताए । ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ,’ उनले भने । अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताउँदै केन्द्रीय पार्टी स्कुल विभागका प्रमुखसमेत रहेका ज्ञवालीले भने ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनुपर्दछ ।’ जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाकेन्द्रित जरा अभियानले समेट्नुपर्ने १० वटा कामका क्षेत्रबारे पोलिटब्युरो सदस्य ईश्वरी रिजाल र जिल्लाको वस्तुगत अवस्थाबारे केन्द्रीय कमिटीका सदस्य एवम् नुवाकोट इन्चार्ज केशवराज पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया