धुन्चे । उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी विद्युतीय चिनियाँ सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार गत आठ महिनामा चार हजार ६ सय ३७ सानाठुला सवारीसाधन भित्रिएका छन् । तीमध्ये साढे चार हजार विद्युतीय सवारीसाधन रहेको उनले बताए । आयातित सवारीसाधनमा विशेष गरी विद्युतीय कार, भ्यान, माइक्रोबस र थोरै इन्धनबाट चल्ने गाडी छन् । फागुन मसान्तसम्म भन्सार कार्यालयको रु. १९ अर्ब ४७ करोड ३६ लाख लक्ष्य रहेकामा रु. १९ अर्ब १४ करोड २० लाख असुली भएको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले बताए । भन्सारले गत आवको सोही अवधिमा रु. १२ अर्ब ९६ करोड ४१ लाख राजस्व लक्ष्य रहेकामा रु. १२ अर्ब ७० करोड ६४ लाख असुली गर्न सफल भएको थियो । सो नाकाबाट गत आव २०८०/०८१ मा सात हजार तीन सय ७७ सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
इभी भित्रिने प्रमुख नाका केरुङ
अहिले केरुङ–रसुवागढी नाका विद्युतीय सवारीसाधन भित्रिने नेपालको प्रमुख नाका बनेको छ । रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यका अनुसार सो नाकाबाट व्यापक आयात–निर्यात हुन थालेको छ । समुद्रीमार्ग भएर कोलकाता बन्दरगाहमा सामान आइपुग्न करिब तीन महिना लाग्छ भने केरुङ नाकाबाट एक महिनामा नै आउने व्यवसायी बताउँछन् । यसले गर्दा सामानको भाडामा पचास प्रतिशत सस्तो पनि हुने बताइएको छ । नाका चलायमान भएसँगै अवैध वस्तु, सुन, नगद आदि पनि ओसारपसार हुन थालेकाले यसमा व्यापक निगरानी गरिनुपर्छ । वेलावेलामा अवैध सामान जफत हुन थालेकाले पनि यसको पुष्टि गर्छ । सत्तरीको दशकमा भूकम्पअघिसम्म निकै परिमाणका सुन, अवैध नगद, डलर, रक्तचन्दन भित्र्याउने प्रयास भए । सो नाकालाई बदनामी हुनबाट जोगाउनुपर्छ, अन्यथा अरू व्यापारी सो नाकाबाट कारोबार गर्न आउँदैनन् ।
रसुवागढी–गल्छी बाटोघाटो त्यति सहज भने छैन, बर्खामा यातायातका साधन चलाउन निकै कठिन हुन्छ । बाटामा गेग्रान र उकालो–ओरालो भएकाले जोखिम मोलेर गाडी चलाउनुपर्छ । यसैबिच रसुवागढी हुँदै नेपाल भित्रिएका, तर नियमअनुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन नाकानजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिएका छन् । भन्सार छुटाउन सवारीसाधनधनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौँ सवारीसाधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले जनाएको छ । आयात गरिएका सवारीसाधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताए । घोषणापत्रको अभावमा बरबुझारथ हुन नसक्दा सवारीसाधनको विषयमा यकिन तथ्याङ्क बताउन नसकिने भन्सार कार्यालयको भनाइ छ ।
सवारीसाधनका अतिरिक्त स्याउ, कालो अङ्गुर, ड्रागन फ्रुट, किबी, हलुवाबेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेय पदार्थ आदि सामग्री चीनतर्फबाट आयात हुने गरेको भन्सार कार्यालयले स्पष्ट गरेको छ । प्रमुख भन्सार अधिकृत भट्टराईका अनुसार रसुवागढी भन्सार कार्यालयमा अहिले ६ अधिकृतसहित ४३ कर्मचारी कार्यरत छन् । चालू आवको सो अवधिमा जिप, कार, भ्यान तीन हजार ६ सय २४, तीनपाङ्ग्रे सवारीसाधन तीन सय ८६, माइक्रोबस, बस, ट्रक ६ सय २७ नेपाल भित्रिएका छन् । भन्सारले सो अवधिमा सवारीसाधन आयातबाट मात्रै रु. ६ अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको भन्सार प्रमुख भट्टराईले जानकारी दिए । राजस्व बढी सङ्कलन हुने सो भन्सारमा कार्यरत आफूहरूले पहराका फेदमा जोखिम मोलेर काम गर्नुपरिरहेको भए पनि आवास तथा तोकिएको समयभन्दा बढी अवधि कार्यालयमा काम गर्दाको अतिरिक्त सेवासुविधाको व्यवस्था नभएको गुनासो कर्मचारीले गरेका छन् ।
प्रतिक्रिया