राजनीतिक परिवर्तनको लाभ नेता र कार्यकर्तामा !

  • त्रिशूली प्रवाह
  • ५ बैशाख २०८२, शुक्रबार ११:४६

नेपालको इतिहासमा दर्ज भएका विभिन्न चरणका राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनताले लिन सकेका छैनन् । जनताको तहसम्म परिवर्तनको प्रतिफल पुग्न नसक्दा सरकारप्रति भरोसा जागेन । त्यस्तै, राजनीतिक स्थिरता नहुँदा देशले जुन गतिमा विकासको फड्को मार्नुपर्ने थियो, त्यो हुन सकेन । वि.सं. २००७, २०१७, २०३६, २०४६, २०६२ मा ठुलो राजनीतिक परिवर्तन भयो । त्यसको प्रत्यक्ष फाइदा जनताले पाए कि पाएनन्, यसको निर्मम समीक्षा गरिनुपर्छ ।

परिवर्तन गतिशील हुन्छ । यसलाई जो-कसैले रोक्न सक्दैन । परिवर्तन हिजो कुन परिदृश्य र आज कुन दृश्यमा भइरहेको छ, हामी सबैले आकलन गर्न सक्छौँ । आजका परिवर्तनले कस्तो सन्देश दिएको छ, त्यो पनि सर्वविदितै छ । राजनीतिक दल, दलका नेता/कार्यकर्ता एवम् आफन्तलगायत चिनजानलाई मात्र परिवर्तन भएको त होइन भन्ने सन्देश प्रवाह भएको छ । के यसलाई सही मान्ने कि नमान्ने ? नमान्ने भए किन नमान्ने ? यसको उत्तर खोजिनुपर्छ । परिवर्तनमा जोडिएका माध्यममा विभिन्न किसिमका चलखेल गर्नेमा राजनीतिक दल, केही सङ्घ-संस्थालगायत छैन भन्न सकिन्न । त्यसैगरी परिवर्तनका नाममा आआफ्ना नातागोता र आसेपासेलाई प्राथमिकता दिने परिपञ्च र जालझेल बुन्ने चलन अझै बन्द भएको छैन । परिवर्तन हाम्रो जस्तो गरिब देशमा कहिलेसम्म उचाइका विन्दुमा पुग्न सम्भव होला ? राज्यकोषको ढुकुटीमा के-कति छ, राज्यबाट आयात र निर्यात के–कति छ, यी सबैबाट यसको सहजै अनुमान गर्न सकिन्छ । परिवर्तन नहुनामा ठुलाबडा र गन्यमान्यकै कारण हो । देशमा विकासले गति लिन नसक्नु सत्ता र शक्तिमा रहेका नेताहरूको निहित स्वार्थले हो भन्दा हिच्किचाउनुपर्दैन ।

परिवर्तनलाई गति दिन ठुलै सङ्घर्ष गर्न जरुरी छ । नेपाली जनताले बेलैमा चनाखो भई परिवर्तनका निम्ति खबरदारी गर्न नसक्दा यसले गति लिन सकेको छैन । अन्यथा परिवर्तनले गति लेला र देश विकास होला भन्नु आकाशको फल आँखातरी मर् भनेजस्तै हुन्छ । अहिले फेरि देशमा व्यवस्था परिवर्तन गर्ने भन्दै केही समूह आन्दोलनमा उत्रेका छन् । देशलाई फेरि अशान्त बनाउन उद्यत् उक्त समूह राजतन्त्रलाई फर्काउने भन्दै गत चैत १५ गते आन्दोलनमा उत्रिँदा पत्रकारसहित दुई नागरिकको ज्यान गएको छ, थुप्रै घाइते भए, करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ । देशलाई अस्थिर बनाएर कमाउन पल्केका देशी-विदेशी फेरि सक्रिय हुन थालेका छन् । गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भए पनि गणतन्त्रका लागि लडेका दल नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सत्ता राम्रोसँग सञ्चालन गर्न नसक्दा राजावादीहरू हौसिएका छन् । उनीहरू आन्दोलनबाटै राजतन्त्र स्थापित गर्न सङ्गठित भइरहेका छन् ।

परिवर्तनसँग सहिदको बलिदानी पनि सँगसँगै जोडिएका छन् । राणाशासनको विरोधी भएबापत वि.सं. १९९७ माघ १० गतेदेखि हाम्रा अग्रज चार क्रान्तिकारीसहित थुप्रैले बलिदान दिनुपर्यो । राणाहरू यस्ता सौखिन थिए कि आफ्ना छोराछोरीलाई मात्र शिक्षादीक्षा चाहिने, आफैँ मात्र टाठोबाठो हुनुपर्ने र आफू पहुँचमा रही राजालाई गुमराहमा राखेर एकलौटी रूपमा राज्यसत्ता चलाउन खोज्थे । राणाशासन सदाका निम्ति अन्त्य हुनुपर्छ भनेकै कारण चारजनाले सहादत दिनुपर्यो । सर्वसाधारणले पनि शिक्षादीक्षा लिन र ऐन-कानुनअनुसार चल्न पाउनुपर्छ भन्नेजस्ता मूल नारा लिएर देशमा क्रान्तिका निम्ति अघि बढ्ने वीर योद्धा र सपुतले देखाएको मार्गलाई आज सत्तामा पुगेका दल र तिनका नेताले बेवास्ता गर्दा अमर सहिदको अवमूल्यन भएको छ । सहिदको त्याग, तपस्या र सपना आज पनि अधुरै छन् । विभिन्न चरणका राजनीतिक परिवर्तनको आन्दोलनमा देशमा २० हजारभन्दा बढी सपुतले आफ्नो ज्यान आहुति दिएका छन् । यी सहिदले दिएको तातो रगतको मूल्याङ्कन हुन सकेको छैन । सहिदको आत्माले नेतालाई धिक्कारिरहेको छ । सहिदले देखाएको मार्गलाई अनुसरण गर्दै जनतालाई सेवा दिने दल, नेता, सत्ता र राज्य आजको आवश्यकता हो ।