आधुनिकतासँगै अखवारको अवसर र चुनौती

  • देवचन्द्र भट्ट
  • ५ बैशाख २०८२, शुक्रबार १२:३७

यतिखेर हामीमाझ पला, सेकेन्ड, मिनेट, घण्टा, दिन हुँदै महिना र वर्ष जसरी बित्दैछन् त्यसैगरी हरेक नयाँ अनि नौलो विषयवस्तुको आगमन भइरहेको छ । चाहे त्यो दैनिक जीवनका लागि आवश्यक वस्तु होस् वा विलासिलाका सामान होस्, चाहे प्रविधि नै किन नहोस्, हरसमय नयाँ र नौलो वस्तु हामीमाझ आइरहेकै छन् । त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषय हाम्रो सोचाइको विषय मात्र हो ।

आधुनिकता र प्रविधिले अहिले सबैलाई छोएको छ । घरदेखि बजारसम्म र कोठादेखि कार्यालयसम्म, हरेक वस्तुलाई आधुनिकताले छोएको छ । केही वर्ष अगाडिसम्म अखबार (पत्रिका) नपढी चियाको धितसमेत नमर्ने हाम्रो समय अहिले यसरी उभिएको छ कि एउटै क्लिकमा मोबाइलमै सबै कुरा देख्न सकिन्छ । हातमै रहेको मोबाइल सेटले आफूले खोजेको अनि चाहेको विषयवस्तु जुन फोटो होस् वा भिडियो होस् वा आवाज नै किन नहोस् तत्काल सुन्न, हेर्न र पढ्न सकिने समय पहाडझैँ उभिएको छ । आधुनिकताले छोएको विश्वबजारमा हामीले प्रविधिसँग बुझ्न, खेल्न र अगाडि बढ्ने चुनौती आएको छ । प्रविधिले खासगरी दस्ताबेजको रूपमा रहेका अखबारलाई विस्थापित गर्दै समस्यामा पारेको छ । एक त पत्रिका छपाइमा खर्चिलोपन, अर्कोतर्फ हाम्रोअगाडि उभिएको भीमकाय प्रविधि । प्रविधिको अगाडि त्यसलाई स्वीकार गरेर आमपाठक, दर्शक र स्रोताले खोजे अनि चाहेअनुसारका सामग्रीहरू पस्कन सक्नु अहिलेको आवश्यकता ठहर भएको छ ।

समय र जमानाअनुसार चलेर त्यसलाई जनतामाझ ऐनाजसरी अगाडि देखाइदिनु पत्रकारिताको धर्म, मर्म अनि कर्म हो । वास्तविक विषयलाई उजागर गर्नु पत्रकारिताको मूल उद्देश्य हो । अब मात्र यही बाँकी छ, आधुनिक प्रविधिलाई कसरी सदुपयोग गर्ने भनेर । यति हुँदैमा पत्रकारिता गर्ने र युट्युब मात्रै चलाउनेलाई एउटै टोकरीमा राखेर तौलन पनि मिल्दैन । यहाँ यस्तै विषयवस्तुले पत्रकारितामा पारेको प्रभाव र आफ्नो साना अनुभवका टुक्रा सेयर गर्छु । कुनै एउटा समसामयिक वस्तुको केही तथ्यगत समाचार सङ्कलनका लागि सम्बन्धित व्यक्तिको कोट लिएर कार्यकक्षबाट बाहिरिँदै गर्दा एकजना कार्यालय प्रमुखले मलाई सोधे – साँच्चि देवसर, तपाईंको युट्युव च्यानलको नामचाहिँ के छ, म फुर्सद मिलाएर हेर्छु ?

झन्डै मेरो आधा उमेर बढीको सेवा अवधि निजामती सेवामा पूरा गरिसकेका ती कर्मचारीको यो जिज्ञासाले म केही स्तब्ध भएँ । उनलाई मैले बुझाउन सकिनँ कि मेरो पत्रकारिता र युट्युबमा फरक वस्तु हो, यसर्थ सामुदायिक पत्रकारिता र युट्युब धेरै फरक हो भनेर । पछि विस्तृतमा कुरा गरौँला भन्दै मैले आफ्नो युट्युब च्यानल नभएको उनलाई सुनाए, अनि बाहिरिएँ । केही महिनाअगाडि एउटा कुनै रिपोर्टिङकै लागि गाउँको एउटा सानो गाउँले बस्तीमा पुगेको थिए । सुरुमा आफ्नो लक्ष्य र आवश्यकताअनुसार समाचार छायाङ्कन, कोडका लागि अन्तर्वार्ता लिँदै गर्दा एकजना महानुभावले भन्नुभयो – मैले तपाईंलाई युट्युबमा देखेको थिएँ । उनको प्रस्टोक्ति उचित पनि थियो, अचेल कतिपय मिडियाले विशेष समाचारको बुलेटिन युट्युबमा पनि अपलोड गरिदिने चलन छ ।

पत्रकारिताको समाचार सङ्कलनकै क्रममा बजारदेखि केही नजिकको कुमाल बस्तीमा पुगेको थिएँ । एकजना कुमाल भाइले अगाडि उभिएर भन्नुभयो, ‘म तपाईंलाई चिन्छु, हजुर मेरो मामाको साथी हो, स्कुलसँगै पढ्नुभएको रहेछ, मेरो त घरमा टिभी छैन, त्यही भएर मैले त मोबाइलबाटै युट्युबमा तपाईंको सिरियल हेर्ने गरेको छु । साँच्चि हजुरलाई पण्डित बनेको मलाई त मन प¥यो, अब तपाईंको अर्को भाग कहिले आउँछ ?’ यिनले त मैले पत्रकारिताबाहेक छुट्टै समय खर्चिने गरेको कलाकारिताको पनि कुरा गर्न भ्याए । चर्चित हास्य टेलिशृङ्खला मेरी बास्सैमा मैले गर्ने गरेको पण्डित बाजेको भूमिकाको ती कुमाल भाइले युट्युबमै हेरेर चर्चा गरेका थिए । बजारदेखि केही टाढाको बस्तीमा पुगेर क्यामेरा कम्मरमा भिरेर फर्किँदै थिएँ । जाडो महिना थियो, बिचमा एउटा चिया पसल देखेर रोकिएँ, चिसो छ, एक कप चिया त पिएरै जानुप¥यो भन्ने सोचेर रोकिएँ, केही महिनाअगाडिको मात्रै कुरा हो, चिया पसलमा सबैका समान उमेरमिल्दो चार-पाँचजना वृद्ध बाहरू कुरा काट्दै हुनुहुन्थ्यो, ‘होइन, शेरबहादुर र केपी ओली मिलेर पनि केही गर्न सकेनन् हौ, यो देशका लागि सत्तामै जाने दाउ मात्र पो रेछ ?’

बिहान मात्रै सुनेको समाचार, उनीहरूले चाहे भने देशले स्थिरता त पाउने थियो । उनीहरूको एक-आपसको कुराकानीमा यसो भनिरहेकै वेला ती वृद्ध बाहरूलाई मैले जिज्ञासा राखेँ – तपाई नियमित समाचार सुन्नुहुन्छ ? मेरो प्रश्न भूइँमा खस्न नपाउँदै अलि रसिला र हँसिला एकजना वृद्ध बाले भन्नुभयो, ‘बाबु कहाँ हामीले रेडियोको समाचारको कुरा ग¥या हौँ त ? पढ्न–लेख्न जानिएन, नातिले विदेशाट यही एउटो बट्टो पठादेको थियो, यसैबाट त्यो युट्युब कि सिउट्युब हेरेर बस्ने गरेका पो छम् त हौ ।’ उनीहरूको भनाइले मैले के प्रस्ट बुझेँ भने अखबार पढ्न नसके पनि उनीहरू मोबाइलबाटै देश–विदेशका कुरा जानकारी राख्छन् । आफूलाई अभ्यस्त बनाउँछन्, प्रविधि र समयको सदुपयोग भनेको पनि यही होला ।

माथिका घटना-परिघटना जे भए पनि अहिले नेपाली जीवनको वास्तविक पक्ष यही हो । इन्टरनेटले आममानिसलाई नजिक बनाइदिएको छ । समय र भूगोलको फरकपन भए पनि पृथ्वीको एउटा कुनो र अर्को कुनोको दूरी छोट्याइदिएको छ प्रविधिले, हो त्यही प्रविधिको भिडमा राज गरिरहेको छ – युट्युबले, अखबार पछाडि भएको भान पारेझैँ । अहिले जमाना अनि प्रविधिको सदुपयोग गर्दै जोसुकैले पनि आफ्नो मोबाइल सेट, ट्याब, आइप्याड, ल्यापटप, डेक्सटपमा सजिलोसँग युट्युब नै खोलेर हेर्ने अनि सुन्ने गर्दछन् । परिवर्तित समयसँगै यसको सदुपयोग र दुरुपयोग दुवै भएको पाइन्छ । सामाजिक जागरणमूलक हिसाबले यसको महत्व राम्रो देखिएको छ भने असान्दर्भिक र अव्यावहारिक विषय राखिँदा यसको उपयोगितामाथि प्रश्न उठ्ने गरेको छ । यही वेला भने अखबार अर्थात् पत्रिकाको न्यास्रो आमपाठकलाई लाग्ने गरेको छ । इन्टरनेटको पहुँचमा रहेका जोसुकैले यसको उपभोग गरिरहेका छन् । चाहे सहर होस् या गाउँ सबैतिर युट्युब हेर्ने समुदायको भिड बढिरहेको छ ।

आजभन्दा तीन दशक अगाडिसम्म मनोरञ्जनका लागि गाउँमा एकाध रोधीघर, चोक तथा विद्यालयमा वर्षमा एकाधपटक देखाइने सडकनाटक तथा बजारमा केही अस्थायी र स्थायी चलचित्र भवन नै मनोरञ्जनका साधन हुने गरेका थिए । यसभन्दा ४० वर्षभन्दा अगाडि, ४० कै दशकमा हजुरबुबाले काठमाडौं वा गाउँका कोही लाहुरेसँग किनेर ल्याएका पानासोनिक रेडियो सेट पनि मनोरञ्जनका साधन थिए । त्यसपछि २०४५ सालतिर गाउँका केही हुनेखानेले छरछिमेकलाई देखाउनकै लागि श्यामश्वेत टेलिभिजन सेट खरिद गरेर घरमा राखेपछि मनोरञ्जनको थप साधन थपिएको थियो । समाचार वा कुनै मनोरञ्जनका वस्तु बेलुकी वा रातको समयमा गाउँका हुनेखानेका घरमा राखिएका कालो टिभी बाहिर आँगनमा बसेर तुना चुँडिएका चप्पल भूइँमा ओछ्याएर आँखा नबटारिउन्जेलसम्म हेर्दाको आनन्द लिने जमात पनि कम थिएन । यसवेला समय बदलिँदै जाँदा हरजोसुकैको घरमा रङ्गीन टेलिभिजनले प्रवेश पायो २० देखि २५ वर्षको बिचमा ।

अहिले इन्टरनेटले विश्व बजार नै परिवर्तन गरिदिएको छ । समयको परिवर्तनसँगै इन्टरनेटको पहुँचमा पुगेका स्रोता, दर्शक तथा पाठक परिवर्तन भएका छन् यतिखेर । समयको बहावसँग अब भने आमसर्वसाधारणको घरमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेटको पहुँचमा पुगेकाले हातको एउटा औँलोले थिचेको भरमा मोबाइलको सेटबाटै विश्व भ्रमण गरेका छन् । इन्टरनेट बुझेका जुनसुकै उमेर तथा समुदायका मानिसले यतिखेर युट्युब हेर्ने गरेका छन् । उनीहरूले पत्रिका खोज्नु त परेको कुरो । अहिले नेपालको एउटा कुनामा बसेर विश्वको जुनसुकै कुनाको खबर इन्टरनेटमार्फत युट्युबको सहायताले गीत, सङ्गीत, समाचार, विश्वचर्चा तथा अन्य रुचिका विषय हेर्ने गरेका छन् । कुनै नियमनकारी निकायमा यसको दर्ता नहुँदा जोसुकैले जेसुकै विषयवस्तुसमेत युट्युबमा अपलोड गरिदिनाले समाजमा असामाजिक कार्यले प्रश्रय पाएको महसुस गर्न सकिन्छ ।

जोसुकैले पनि इन्टरनेटको सदुपयोग गरेर युट्युब च्यानल खोल्न सक्ने भएका कारण पछिल्लो समय यसको नियमन आवश्यक रहेको ठहरसमेत गरिएको छ । सामुदायिक विषयका भन्दा धेरै भ्युअर बढाउने लक्ष्यमा यसका अपलोडकर्ताले असामाजिक तथा व्यक्तिगत विषय राखिदिँदा अविश्वसनीयता बढ्दै गएको छ । विशेषगरी पछिल्लो समय यसको सदुपयोगभन्दा दुरुपयोग बढेको ठहर भएको छ । भ्युअर बढाउने बहानामा कसैका व्यक्तिगत घटनाका विषय अपलोड गरिँदा यसले समाजमा नकारात्मक सन्देक त गएको छ नै युट्युबको महत्व र गरिमासमेत घटिरहेको छ । सामुदायिक विषयवस्तु उठान गरेर समाजलाई पत्रिकाले सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता बढेको छ । युट्युब अहिले महत्वको विषय पक्कै हो । तर, पत्रिकाजस्तो इतिहास र महत्व बोकेको भने अवश्य होइन । यसका दर्शकले असान्दर्भिक र असामाजिक विषयलाई जबर्जस्ती रूपमा देख्नुपरेको गुनासो गर्ने गरेका छन् ।

यसको नियमनकारी निकायले मापदण्ड बनाएर दर्तादेखि अनुगमनका कार्य गरेर सदुपयोग हुने कार्यमा बढोत्तरी हुने यसका नियमित प्रयोगकर्ता रामहरिप्रसाद रिमालको भनाइ छ । मैले त यसबाट देश-विदेशका कुरा मात्र हेर्ने गरेको छु, यो भन्दा नि मेरो पहिलो प्राथमिकता त पत्रिका नै हो । यद्यपि, असामाजिक विषय देख्नेबित्तिकै युट्युबको वस्तु क्लिक नै गर्दिनँ, सचेत भएर मात्र यसको प्रयोग गर्नुपर्दछ– रिमालको सुझाव छ । उमेरले झन्डै नौ दशक हुन लागेका बाबुराम शर्मा अधिकारी पनि रिमालको धारणामा सहमत छन् । अधिकारीले पनि समय परिवर्तन अवश्य भएको हो । तर, परिवर्तनको बहानामा वास्तविक पत्रकारितालाई ओझेलमा पार्ने गरी असामाजिक विषयले त समाजलाई गलत बाटोतर्फ लैजान्छ नि, यसको नियमन गरिँदा धेरै राम्रो र उपयुक्त बाटो हो – अधिकारीले औँल्याए ।

युट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन यसका अपलोडकर्ताले सचेत हुनुपर्दछ । समाजले जुनसुकै नयाँ कुरा सहजै स्वीकार नगर्ने हुँदा मर्यादित, सान्दर्भिक सामग्री दिएर समाजको स्वीकार्य हुन जरुरी रहेको छ । युट्युबमा समसामयिक, जानकारीमूलक, समाचारजन्य र सार्वजनिक सरोकारका विषयवस्तु राख्ने हो भने आचारसंहिता र प्रचलित ऐन- कानुनको परिधिमा बाँधिनुपर्ने आवश्यकता रहेको छ । तर, पत्रिकाको छुट्टै महत्व र आवश्यकता रहेको आमपाठकको ठहर छ । लामो समयदेखि युट्युब र यसबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा गुनासो आइरहेको छ । यसको नियमन र नियन्त्रण जरुरी भइसकेको सरोकारवालाको टिपपणी रहेको छ । युट्युबमार्फत गरिने प्रस्तुति सामाजिक नियम, आचारसंहिता र निर्देशिकाको मातहतमा रहनैपर्ने आवाज उठेको छ । युट्युबबाट प्रसारित सामग्रीबारे वेलावेलामा उजुरी पर्ने गरेको छ । यद्यपि, सचेत गराउने कार्य मात्रै भइरहेको छ ।

जनताका विषयभन्दा युट्युब सञ्चालकले आफ्नो तवरले विषय अपलोड गरिदिँदा समस्या आउने गरेको छ । युट्युबमा सामाजिक विषयवस्तुको छनोट, प्रसारण र नियमनकारी निकायको अनुगमन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने माग उठेको छ । नेपालको संविधान २०७२ ले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आबद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । यद्यपि, नेपालमा प्रविधिको सदुपयोगभन्दा दुरुपयोग भएको ठहर गरिएको छ ।

युट्युबमा गलत रूपमा सामग्री सम्प्रेषण कार्य हुने गरेको छ । डिजिटल माध्यममार्फत सकारात्मक सामग्री सम्प्रेषण कार्य गरिनुपर्ने आवश्यकता आएको छ । युट्युबमार्फत आचारसंहिता पालना गर्दै सामाजिक सामग्री सम्प्रेषण गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट सकारात्मक आवाज आउने निश्चित रहेको छ । नेपाली समाजले नयाँ विषयलाई सहजै स्विकार्न नसक्ने भएकाले पाँच दशकअगाडि पत्रपत्रिका, रेडियो र टेलिभिजनले जुन सकारात्मक सन्देश प्रदान गरेको थियो । अनलाइनले पनि सबैको समर्थन जुटाउन सक्नुपर्ने अवस्था विद्यमान रहेको छ । युट्युबमार्फत गरिने सामग्री सन्तुलित र जवाफदेही हुनुपर्दछ । सञ्चारमाध्यमका रूपमा सञ्चालन भएका युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएको छ । ‘युट्युब र यसको आचारसंहिता’ ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा पहलकदमी तत्काल आवश्यक रहेको छ ।

नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग गरिनुपर्ने आवाज उठेको छ । प्रविधि र पहुँचसँगै मिडियाका रूप, चरित्र र भूमिका पनि फेरिँदै गएका छन् । मिडियाले सिर्जना मात्रै होइन ध्वस्त पनि गराइरहेको हुन्छ । पछिल्लो समय युट्युबले मिडियाको परिभाषा बदल्ने प्रयास गरे पनि यसको सामग्रीका कारण समस्या भएका अवश्य हुन् । नकारात्मकतालाई प्रोत्साहन गरेर पनि सामाजिक जागरण र देशको प्रगति हुँदैन । त्यसैले सिर्जनशीलताका लागि युट्युबमार्फत सामाजिक विकासमा केन्द्रित हुन विज्ञान र प्रविधिप्रति आकर्षण थपेर सकारात्मक समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको छ । राम्रो कामको औचित्य प्रमाणित गरेर पत्रिकाले भूमिका खेलेमा स्वतः जनमत आकर्षित हुन्छन् । समय र आवश्यकतालाई प्रमाणित गर्न अब सामुदायिक पत्रकार तयार हुनुपर्छ । अहिले पत्रिकाको धारिलो हतियार भनेकै समयको पहिचान र विश्वास हो ।

स्वामित्वको लालपुर्जा अरूसँग भए पनि हतियारको मालिक भने चलाउने हुन्छ । भावना र आवेगले मिडियामार्फत पत्रिकाले सत्यको खोजी गरेर जनतालाई पस्किनुपर्दछ । यसबाटै जनमास जुटेर मान्छेलाई नित्य नयाँ बनाउन आवश्यक छ । मानिस जिज्ञासु प्राणी भएकाले नित्य नयाँ बन्न र जीवन सङ्घर्षका लागि हितअनुसारको सूचनाबाट अद्यावधिक हुन चाहिरहन्छ । तर, मिडिया बजारमा भइरहेका अहिलेकै यात्रा, असामाजिक सामग्री, अव्यावहारिक सूचना, कुसूचना, भ्रमित सूचना र प्रायोजित सूचनाबिचका भिडन्त नबुझ्दा भने पत्रकारिता रनभुल्लमा परिरहेको छ । यसका लागि समयसापेक्ष मिडिया साक्षरता र सामाजिक चेत आवश्यक पर्छ । सकारात्मक सन्देश दिने पत्रिकाले पाठकको सचेतना र विचारमा रजाइँ गरिरहेका हुन्छन् । अब नेपालमा प्रविधियुक्त सचेतना र प्रवद्र्धनको आवश्यकता भएको छ ।

(लेखक २४ वर्षदेखि छापा तथा विद्युतीय पत्रकारितामा आबद्ध छन् ।)