रसुवामा ७० प्रतिशत खानेपानी दूषित

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८२, आईतवार १५:५२

धुन्चे । रसुवा जिल्लाको ७० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय रसुवाले जिल्लाको चारवटा पालिकाको ७५ ठाउँको सङ्कलित खानेपानीको नमुना परीक्षण गर्दा ७० प्रतिशत खानेपानी दूषित भएको जनाएको हो ।

जिल्लाका चार स्थानीय तहको विभिन्न स्थानका बासिन्दाले प्रयोग गर्ने इनार, ढुङ्गेधारा तथा पानीको मुहानको नमुना परीक्षण सङ्कलन गरी परीक्षण गर्दा दूषित देखिएको कार्यालय प्रमुख झमप्रसाद आचार्यले जानकारी दिए । गर्मीयाम सुरु भएसँगै खानेपानीबाट फैलन सक्ने सरुवा रोगको नियन्त्रणका लागि कार्यालयले गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँमा पानीको नमुना सङ्कलन गरी परीक्षण गरिएको बताए । परीक्षण गर्दा जिल्लामा प्रयोग गरिएको खानेपानी ७० प्रतिशत पिउनयोग्य नरहेको पाइएको उनले बताए । दूषित पानीबाट बच्न उमालेको पानी सेलाएर पिउने, क्लोरिन झोल राखेर पानी पिउन अनुरोध गर्दै पानीको स्रोत तथा मुहानको शुद्धीकरण गरेर पिउनयोग्य भए तापनि उपभोक्ताको धारासम्म पुग्दा पानी दूषित हुने भएकाले सचेत रहन कार्यालयले आग्रह गरेको छ । पानीको स्रोतलाई संरक्षण तथा सरसफाइमा ध्यान दिनसमेत अनुरोेध गरिएको छ । परीक्षण गरिएका नमुनामध्ये केही स्थानका पानी फिल्टर गरी पिउनयोग्य देखिए तापनि पानी प्रशोधन गरेर मात्र पिउन उपयुक्त रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

कार्यालयले खानेपानीका स्रोत दूषित हुने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ । ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पिउनुपर्छ भन्ने सन्देश दिइरहेका छौँ,’ आचार्यले भने । उनका अनुसार दूषित पानीका कारण सबै उमेर समूहका व्यक्तिलाई हैजा हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । स्थानीयस्तरमा पानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर जाने योजना बनाइएको आचार्यले बताए । यस्तै, खाना बनाउनुअघि र पछि, दिसा–पिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको बासी र झिँगा भन्केको खानेकुरा नखान पनि अनुरोध गरिएको छ ।