बट्टार (नुवाकोट) । नेपाल बुद्धिजीवी परिषद्ले नयाँ वर्ष २०८२ को अवसरमा सोमबार बट्टारमा चियापानसहितको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजना भएको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागीले २०८२ सालले देशलाई राजनीतिक स्थायित्व, विकासको गति प्रदान गरोस् भन्ने कामना गरेका थिए । परिषद्ले झन्डै तीन दशकदेखि नेपाली नयाँ वर्षको अवसरमा शुभकामनासहितको चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रमकी प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य बिन्दा ढुंगानाले पार्टीप्रति जनतामा विश्वास र भरोसा बढाउन बुद्धिजीवीको निकै ठुलो भूमिका रहने उल्लेख गर्दै साङ्गठनिक सन्दर्भमा भए गरेका गुनासो र समस्यालाई हल गर्दै जाने विश्वास व्यक्त गरिन् । कार्यक्रममा पार्टी स्कुल विभाग सदस्य रामशरण प्याकुरेलले नयाँ वर्षको शुभकामना व्यक्त गर्र्दै बुद्धिजीवी पर्व विशेष, कार्यक्रम विशेषमा मात्र सक्रिय हुने परिपाटी अन्त्य गरेर वर्षैभरि क्यालेन्डर बनाएर सक्रिय हुनुपर्ने सुझाव दिए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा अनुशासनहीनता, गतिछाडा प्रवृत्ति मौलाएको प्रसङ्ग उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई लगाम नलगाउने हो भने समस्या थपिनेसमेत बताए ।
सोही अवसरमा पूर्वसांसद नारायणप्रसाद खतिवडाले आउँदो चुनावमा एमालेलाई विजयी गराउनका लागि असल चरित्र, राम्रा विचार, जनतासँग निकट भएर व्यस्त रहन सबैलाई शुभकामना दिए । विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डितले एमालेका जनप्रतिनिधि भुत्ते हुँदै गएको, निम्छरो प्रवृत्ति देखिएको उल्लेख गर्दै एमालेबाट निर्वाचित भएपछि पार्टीको नीति, पार्टीको हितविपरीत लाग्ने छुट कसैलाई नभएको बताए । बुद्धिजीवी परिषद् जिल्ला अध्यक्ष रामहरि रिमालको सभापतित्व तथा सचिव विष्णु चित्रकारको सञ्चालनमा भएको शुभकामना कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव शिवकुमार चित्रकारले पार्टीप्रति रहेका गुनासो सडक र चियापसलमा ओकल्ने, प्रतिस्पर्धी दलको भिडमा सुनाउने खराब प्रवृत्ति मौलाएको सन्दर्भ उल्लेख गर्दै सही ठाउँमा मात्र गुनासो, सुझाव राख्न आग्रह गरेका थिए । कार्यक्रममा एमालेसँग निकट विभिन्न पेसा र व्यवसायमा संलग्न झन्डै एक सयजनाको सहभागिता थियो । सो अवसरमा एमालेका नेता, पार्टीले लिएको नीतिका विषयमा समेत सहभागीले गुनासो राखेका थिए । परिषद्को जिल्ला कमिटीले स्थापनाकाल २०५३ सालदेखि नै नयाँ वर्षको दिन चियापानसहित शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया