रसुवा । सरकारले कृषि क्षेत्रबाट रोजगारी र समृद्धि हुने योजना बनाए पनि कार्यान्वयन हुन नसक्दा लाङटाङमा ७२ वर्ष अगाडिदेखि सञ्चालित एसियाकै पहिलो चिज उत्पादन केन्द्र दयनीय अवस्थामा सञ्चालन भइरहेको छ । उक्त केन्द्र बन्द हुने अवस्थामा पुगेको गोसाइँकुण्ड गाउँपालिका-४ का अध्यक्ष ढिन्डुप जाङ्बो तामाङले बताए । वि.सं. २०७२ को भूकम्पअघिसम्म वार्षिक ६ हजार केजीभन्दा बढी याक चिज उत्पादन गर्ने लाङटाङ चिज उत्पादन केन्द्र अहिले बल्ल-बल्ल एक हजार पाँच सय केजी चिज पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ ।
गोसाइँकुण्ड-४ क्यान्जेनमा २००९ मा स्विट्जरल्यान्डका टोनी हेगनद्वारा स्थापना भएको चिज उत्पादन केन्द्रले उत्पादन गर्ने चिज अर्गानिक याक चिजको नामले देशभित्र र देशबाहिरका चिजपारखीले चिन्ने गरेका छन् । चार हजार मिटरभन्दा माथिको उच्च हिमाली क्षेत्रमा जडीबुटीजन्य घाँस, यार्सागुम्बा, पाँचऔँलेलगायतका झारपात र मानव मलमूत्ररहित क्षेत्रको पानी खाने भएकाले यस क्षेत्रमा चर्ने याक तथा चौँरीको दुध पोषिलो र अर्गानिक रहेको प्रमाणित भएको छ । लाङटाङ नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । यस क्षेत्रमा विश्वभरका साहसिक पर्यटक पदयात्रा र हिमशृङ्खलालाई नजिकबाट हेर्न लालायित हुन्छन् । हेगनको नेतृत्वको स्विस पर्यटकले २००९ सालमा यस क्षेत्रको भ्रमण गरेका थिए । स्थानीयले चौँरीको दुध खानमै प्रयोग गर्ने र बाँकी रहेको दुधबाट छुर्पी बनाउने गरेको देखेर उनीहरूले (स्विस पर्यटकले) चिज बनाउन सकिने बताए । हेगनकोे टोली नेपालबाट फर्केर उपकरण र प्रविधिसहित ल्याएर लाङटाङमा चिज बनाउन थालेपछि लाङटाङवासीले दुधको महत्व बुझ्न थाले । स्विस सरकारले २००९ देखि २०११ सम्म चिज उत्पादन गरेको थियो । उनीहरूले चिज उत्पादन केन्द्रका लागि जग्गासहितको भवन, उपकरण र प्रविधिसहित नेपाल सरकारलाई २०११ सालमा हस्तान्तरण गरेको थियो । त्यसपछि उक्त चिज उत्पादन केन्द्र नेपाल सरकारको मातहतमा रहेर निरन्तर सञ्चालन भइरहेको थियो । २०७२ को भूकम्पपछि चिज उत्पादन केन्द्र केही समय बन्द रहेर पुनः सञ्चालनमा आए पनि अहिले बन्द हुने अवस्थामा पुगेको छ । भूकम्पले लाङटाङ गाउँ नै पुरेपछि चौँरी पाल्ने किसान २३ जनासहित सात सयभन्दा बढी चौँरी र केन्द्रका दुईजना कर्मचारीले ज्यान गुमाएका थिए । भूकम्पपछि चौँरी पाल्ने किसानको सङ्ख्या घटेको गोसाइँकुण्ड–४ का अध्यक्ष तामाङले बताए । भूकम्पपछि यो वडामा च्याङ्ग्रा, भेडापालन पूर्ण रूपमा लोप नै भएको उनले बताए । सरकारले देशको पहिलो चिज केन्द्र सञ्चालन गर्न भूकम्पपछि चासो नदिएको उनले आरोपसमेत लगाएका छन् । अहिले चौँरी पाल्नेको सङ्ख्या घट्दै गएको, युवाले चासो नदिएको, सरकारले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसकेकाले केही वर्षभित्रमै चिज कारखाना बन्द हुने उनले दाबी गरेका छन् । भूकम्पअघिसम्म यस वडाका नागरिकको मुख्य पेसा चौँरीपालन रहेकोमा भूकम्पपछि अधिकांश पर्यटन पेसातर्फ उन्मुख भएको उनले बताए ।

भूकम्पपछि निर्माण भएका अधिकांश घरमा होटेल र लज सञ्चालन भएका छन् । भूकम्पले पुरेको लाङटाङ गाउँ हेर्न २०७२ पछि स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढेपछि स्थानीयले चौँरीपालन छाडेर होटेल व्यवसाय सुरु गरेका हुन् । भूकम्पको पहिरोमा परेर नेपाली सेना, पर्यटक र स्थानीयसहित तीन सयभन्दा बढी अझै हराइरहेका छन् । भूकम्पपछि नयाँ पर्यटक गाउँमा रूपान्तरण भएको लाङटाङ र क्यान्जिनमा चौँरीपालन घट्दै गएको स्थानीय बताउँछन् । १५ वटा चौँरी पाल्नेले भन्दा तीन थर्मस कालो चिया बेच्नेले पर्यटक सिजनमा बढी कमाउने चिज उत्पादन केन्द्र लाङटाङका प्रमुख ग्याल्बो तामाङले बताए । २९ वर्षदेखि केन्द्रमा कार्यरत तामाङले पनि चौँरी पाल्ने सङ्ख्या २०७२ पछि घटेको बताए । वर्षको पाँच महिना चिज उत्पादन हुने लाङटाङमा कालो चिया र एक बोतल मिनरल वाटरको भन्दा एक लिटर दुधको मूल्य कम रहेको छ । केन्द्र प्रमुख तामाङले बताएअनुसार कृषकले एक लिटर दुधको मूल्य जेठ–असारमा कम, साउन–भदौ–असोजमा बढी पाउने गरेका छन् । जेठ–असारमा लिटरको एक सयसम्म र साउन–भदौमा रु. एक सय २० सम्म फ्याटको आधारमा दुधको मूल्य निर्धारण हुने गरेको छ । दुग्ध विकास संस्थानअन्तर्गत रहेको दुग्ध पदार्थ बिक्री–वितरण आयोजनाले रेखदेख गरिरहेको केन्द्रले विगत दुई वर्षदेखि चिज र नौनी उत्पादन घट्दै गएको केन्द्र प्रमुख तामाङले बताएका छन् । संस्थानले चौँरीपालन गर्ने किसानलाई अनुदान बिमा र दुधको मूल्य बढाएर प्रोत्साहन गर्न सकिएन भने केही वर्षमा चिज उत्पादन केन्द्र बन्द हुने उनले बताए ।
संस्थानको नाममा दुई रोपनी १३ आना जग्गा क्यान्जेनमा र चारवटा दुध सङ्कलन केन्द्र त्यसको वरपर रहेको छ । वर्तमान सरकारले आफ्नोमातहतमा रहेको सबै उद्योग, कलकारखाना बन्द गरेर विदेशबाट सामान आयात गरेर भन्सार राजस्वमा रमाइरहेको अवस्थामा एसियाकै पहिलो चिज उत्पादन केन्द्र सञ्चालनमा चासो नदिनु कुनै ठुलो कुरा नभएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । यहाँ पुग्ने पर्यटकले कोसेलीको रूपमा लैजाने चिज र नौनीसमेत उत्पादन गर्न नसक्ने अवस्थामा अहिले केन्द्र रहेको छ । केन्द्रले उत्पादन गर्ने चिज र नौनी विगतमा हेलिकोप्टर रिजर्भ गरेर र स्याफ्रुबेँसीसम्म बोकाएर त्यहाँबाट काठमाडौँ लैजाने गरिएको थियो । अहिले यहाँ उत्पादन भएको चिज र नौनी स्थानीय होटेल व्यवसायीको मागलाई समेत धान्न नसक्ने अवस्था रहेको स्थानीय व्यवसायी तेन्जेन लामाले बताए ।
प्रतिक्रिया