देवीघाट । ‘उत्पादन दुधमा प्रोत्साहन कार्यक्रम’अन्तर्गत विदुर नगरपालिकाले दुई महिनाको अवधि (पुस-माघ) मा लिइएको तथ्याङ्कको आधारमा दैनिक कम्तीमा १० लिटर दुध डेरीमा बिक्री गर्ने किसानलाई नगद रकम उपलब्ध गराएको छ ।

नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विदुर-५ देवीघाटस्थित त्रिशूल डेरीमा दुध बिक्री गर्ने किसानलाई तथ्याङ्कको आधारमा प्रतिलिटरमा रु.३.५ प्रोत्साहन रकम नगरप्रमुख राजन श्रेष्ठले किसानलाई गत हप्ता एक कार्यक्रमबिच प्रदान गरेका थिए । यो चालू आवको दोस्रो कार्यक्रम हो । यसपटक ५१ जना किसानलाई नगद उपलब्ध गराइएको छ । सो कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा नं. ५ का अध्यक्ष लीलानाथ न्यौपाने, १० का अध्यक्ष गणेशकुमार नेपालसहित स्थानीय सरोकारवाला, लाभग्राही किसानलगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा नगरप्रमुखसहितको जनप्रतिनिधिको टिमले स्थानीय किसानसँग अन्तक्रिया एवम् गुनासो सङ्कलन गरेको बताइएको छ ।
प्रतिक्रिया