रिपोर्ताज
मिति : २०८२ वैशाख ४ गते बिहीबार । समय : बिहान ०८ बजे । स्थान : सुखद पाहुनाघर, विदुर-४, बिन्द्रला मार्ग । ‘त्रिशूली प्रवाह’ साप्ताहिकको २६औँ वार्षिकोत्सवसँगै ‘स्थानीय तह र सङ्घीयता कार्यान्वयन’ अन्तरसंवाद कार्यक्रम । सहभागिता : विदुर र तार्केश्वरका प्रमुख, उपप्रमुख, नुवाकोटका प्रजिअ, विदुरका पूर्वप्रमुख, बागमती प्रदेशका पूर्वभौतिक योजना तथा आन्तरिक मामिलामन्त्री ।
पत्रिकाका कार्यकारी सम्पादक विष्णु तारुकेले कार्यक्रम सञ्चालन गरे । सभापतिमा पत्रिकाका प्रकाशक । सम्पादक शरण उत्सुक रहे । अतिथि, सहभागीलाई शब्दद्वारा स्वागत गर्दै पत्रिकाका रसुवा संवाददाता जी लेकाली उर्फ ज्ञानेन्द्र न्यौपानेले स्रोतसाधन जुटाएर कठिनतापूर्वक पत्रिका चलाइरहेको र पाठकले पनि उत्साह दिइरहेको जनाउँदै यसले सङ्घीयता कार्यान्वयन, शिक्षा, स्वास्थ्य, सुरक्षा, धार्मिक पर्यटन, वन, वनस्पति, जैविक विविधताका पक्षमा सन्देशमूलक सूचना, समाचार प्रकाशन गरिरहेको र विकृति–विसङ्गतिविरुद्ध आवाज उठाइरहेको बताए ।
त्यसपछि राष्ट्रगान गाइयो र सञ्चारकर्मीलगायत सहिदप्रति मौनधारण गरियो । पत्रिकाका संस्थापक सम्पादक रामचन्द्र भट्टले विषयवस्तुबारे प्रकाश पार्ने क्रममा आफूहरूले पत्रिका थालनी गर्दा जिल्लामा दुई–तीनवटा मात्र पत्रिका भएको, तर ती पनि नियमित नभएको अवस्था रहेको तथा सानो साइजमा पहिलो अङ्कका लागि पत्रिका सेटिङ गर्दा तीन दिनसम्म लागेको जानकारी दिए । अहिले पत्रिकाका लागि लगानी मात्रले नहुने जनाउँदै दक्ष पत्रकार राजधानीतिर गएकाले स्थानीय जनशक्ति पाउन गाह्रो भएको बताए । उनले स्थानीय तहले स्थानीय मिडियालाई आर्थिक, भौतिक सहयोग गर्नुपर्ने ध्यानाकर्षण गराए ।
अमेरिकामा १२-१३ वर्ष बसेर केही समयका लागि नेपालमा आएका उनले त्यहाँका गभर्नर (राज्यप्रमुख) लाई अचाक्ली अधिकार हुने र नगरपालिकाले पनि गुनासो आउनै नगर्ने गरी काम गर्ने जानकारी दिए । नगरपालिकामा दलीय निर्वाचन नभई व्यक्तिगत मात्र हुने पनि उनले बताए । विदुर नगरपालिकामा बसाइँसराइ तीव्र भइरहेकाले ढल, बिजुली, इन्टरनेट, तार, सडक आदिसहित व्यवस्थित सहरीकरणको योजना बनाउन नगरपालिका पदाधिकारीलाई आग्रह गरे ।
त्यसपछि सहभागीलाई ‘फ्लोर ओपन’ गरिएपछि नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले स्थानीय तह र जनप्रतिनिधिले काम नगरेमा सङ्घीयता टिक्न नसक्ने बताउँदै अधिकांश बालबालिकाका बाबुआमा बिदेसिएकाले बालगृहमा बसेका तिनका सन्तान लागुपदार्थको दुव्र्यसनी भएको विषय मिडियाले उठाइदिनुपर्नेमा जोड दिए । जिल्लामा यही महिना बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता (वैशाख १३–१५) र बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता (वैशाख १३-२०) हुन लागेको जानकारी पनि उनले दिए ।
राजनीति तथा सञ्चारकर्मी नारायण नेपालले व्यवस्थित कार्यपत्रसहित अन्तरसंवाद भएको भए राम्रो हुने जनाउँदै समपूरक, विशेष र ससर्त अनुुदानबाहेक अन्य बजेटका लागि अहिले पनि सिंहदरबार र हेटौँडा धाउनुपर्ने स्थिति रहेको औँल्याए । स्थानीय तहले बाहिरी जिल्लाका विज्ञापनबापत रकम भुक्तानी गर्नुभन्दा गाउँ, नगरपालिकाले गरेका राम्रा कामको आलेखबापत खर्च गर्नु श्रेयष्कर हुने सुझाव पनि दिए ।
विदुर-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले आफ्ना वडामा कृषि क्षेत्रको जमिन उपयोगका लागि कुमालजस्ता सीमान्तकृत जातिका लागि सिँचाइको व्यवस्था गरिएको स्पष्ट गर्दै शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता पूर्वाधारलाई प्राथमिकता दिइएको जानकारी दिए । विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितले पहिलेका १, १० र ११ वडा मिली हाल १ नं. वडा रहेकाले खर्च पनि बढेको जनाउँदै स्थानीय तहमा खर्च किन बढेको हो भन्ने विषयमा मिडियाले छर्लङ्ग पार्नुपर्नेमा जोड दिए। विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले त्रिशूली प्रवाहले रसुवा, नुवाकोट र धादिङका ससाना समाचार पनि सम्प्रेषण गरेको र आफ्नो साख गिर्न नदिएको विचार व्यक्त गरे । वडाध्यक्ष घरझगडामा पनि पुग्नुपर्ने, सडक आदि निर्माणमा एक पक्ष खुसी भए अर्काे पक्ष बेखुसी हुने अवस्था पनि रहेको बताए ।
नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले गल्छी-त्रिशूली बाटो बन्द, ट्राफिक जाम, थुप्रै चोरी र बसपार्क नचलेको खबर मिडियामा नआएको जिकिर गर्दै जिल्ला प्रशासन कार्यालयमा १५ दरबन्दीमा आठजना मात्र कार्यरत रहेको, योजनाहरू फुटाएको तथा नागरिकता, यातायात, भाडा सम्बन्धमा जनताले दुःख पाएको बताए । उनले स्थानीय तहमा बेरुजु बढेको तथा अनुगमनमा नागरिक समाजलाई नसमेटेकामा ध्यानाकर्षण गराए ।
सञ्चारकर्मी एवम् बुद्धिजीवी धनबहादुर मिजारले विचार दिने छापा मिडियालाई कसैले पनि हेप्न नहुने जनाउँदै सङ्घीयता कार्यान्वयनमा मोफसलका मिडियाको महत्वबारे प्रकाश पारे । मिडिया तथा वैदेशिक रोजगारी र शिक्षा परामर्शदाता अनुजकुमार श्रेष्ठले सङ्घीयतापछि बाटाघाटाले सहजीकरण भएको जनाउँदै स्थानीय तहले व्यवस्थित सहरीकरण, पर्यटन प्रर्वद्धन र सामाजिक रूपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्थानीय तहले कर उठाउने मात्र नगरी त्यसको सही ठाउँमा खर्च पनि गर्नुपर्ने सुझाव दिँदै मिडियाले सानो गल्ती मात्र नऔँल्याई उत्साह दिने सामग्री पनि पस्कनुपर्ने सुझाव दिए । सञ्चारकर्मी रामहरि गजुरेलले सङ्घीयता कार्यान्वयनका लागि सामूहिक पहिचान, विविधता र समावेशितालाई पनि ध्यान दिनुपर्ने औँल्याए । पत्रकार देवचन्द्र भट्टले पत्रकारको पनि परीक्षा लिइएमा पत्रकारिता मर्यादित र गुणस्तरीय हुने बताउँदै स्थानीय तह र मिडियाबिच जीवन्त सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
विदुर नगरपालिकाका पूर्वप्रमुख सञ्जु पण्डितले सिंहदरबारको अधिकार गाउँमा भनिए पनि अझै स्थानीय तहले नसकेर हो वा नबुझेर हो, सङ्घ र प्रदेशमा धाउनुपर्ने बाध्यता रहेको जनाउँदै २२ एकल अधिकार रहेको स्थानीय तहसँग आफ्नै सरकारको हैसियत रहेको बताए । प्रजिअ शशिधर घिमिरेले पूर्वाधारमा स्थानीय तहले राम्रो भूमिका निर्वाह गरेको जनाउँदै जलवायु परिवर्तन र विपत्लाई बेवास्ता गर्दै विकासनिर्माण गर्न नहुने सुझाव दिए । सहकारी, सामाजिक सेवा, जनजीविका, बजारीकरण, रोजगारी र स्वरोजगारीका पक्षमा पनि काम हुनुपर्नेमा जोड दिँदै नागरिकले प्रश्न उठाएकामा समीक्षा गरी सुधार गर्न सुझाव दिए ।
तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालले जनताका आवश्यकता र समस्या पहिचान गरेर तथा दलीयताको आभास नदिएर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आफूहरूले स्थानीय तहलाई जनताले पनि अपनत्व लिन सक्ने ढङ्गले काम गरिरहेको बताउँदै योजनाहरूको अनुगमन गर्दा जनताको जीवनस्तरमा आएको प्रभावको पनि अध्ययन गरिएको जानकारी दिए । उनले कृषि, कृषक अनुदान, कृषिसडक, पशुपालन, ससाना खानेपानी योजना, कुलो, ढल, कालोपत्रे सडक, महिला-ज्येष्ठ नागरिक-बालबालिकामा गरिएको लगानी, खेलकुदमा प्राथमिकताबाट जनतामा आएको खुसीबारे प्रकाश पारे । उनले विदुरलाई बागमती प्रदेश सरकारले पनि ध्यान दिएको जनाउँदै यहाँको कृषि, नदी, वनजङ्गल, पर्यावरण पक्ष अध्ययन गरी व्यवस्थित सहरीकरणमा ध्यान दिइने स्पष्ट गरे । तार्केश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले ४० वर्षपछि तारुका क्षेत्र जलमय भएको र गाउँपालिकामा हरेक बुधबार जातीय पोसाक लगाउने प्रावधानका कुरा उजागर गर्न मिडियालाई आग्रह गरे । उनले जनप्रतिनिधिहरूलाई पनि ऐन-कानुन, कार्यविधि आदि विषयमा प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याए ।
विदुरका नगर प्रमुख राजनलाल श्रेष्ठले सत्यतथ्य, यथार्थपरक वस्तुस्थिति उजागर र सुसूचित गर्ने ‘त्रिशूली प्रवाह’ नरोकिने विश्वास व्यक्त गर्दै नगरपालिकाले समानुपातिक सहयोग गरेर मिडिया जोगाउने नीति लिएको जानकारी दिए । आफ्नो र नगरपालिकाको २४। ७ (घण्टा र दिन) नै जनताका लागि भएको बताउँदै उनले धेरै अधिकार सङ्घमै अड्केकाले अझै विकेन्द्रीकरण नभएको गुनासो गरे । उनले पहिले कक्षा ८ मा ३९ प्रतिशत उत्तीर्ण हुने गरेकामा अहिले ८१ प्रतिशत भएको, गल्छी–मैलुङ सडक र नुवाकोट दरबारको काम अघि बढेको, गद्दी खोलाको दोभानबाट २५ हजार जनतालाई खानेपानी सुविधा पु¥याइएको जानकारी दिए । उनले रु. ६ करोडमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिँदै त्यसबाट सिधै उपभोक्ताले किन्न पाउने, बिचौलियाको प्रवेश नहुने बताए । सङ्ग्रहालय निर्माणका लािग जर्मन संस्थासँग छलफल चलिरहेको जानकारी दिँदै एकीकरण भूमि नुवाकोटका पुरातात्विक वस्तु संरक्षण गरी पर्यटक भित्र्याउन सके समग्र जिल्लाको पुनरुत्थान भई जनताको आर्थिकस्तर पनि वृद्धि हुने विश्वास व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले भने – सहरी विकास मन्त्रालयले बस्ती विकासका लागि पाँच सय रोपनी जग्गा ल्यान्ड पुलिङ गर्नका लागि पत्र पठाएको छ ।
‘त्रिशूली प्रवाह’ का संस्थापक प्रवद्र्धक रामशरण प्याकुरेलले पत्रिकाको नेतृत्वले मिहिनेत, जिम्मेवारीबोध, समाजप्रतिको दायित्व र पत्रकारिताको मूल्यमान्यता अपनाएकाले ‘त्रिशूली प्रवाह’ मानक वा ‘ब्रान्ड’ बन्न सकेको कुरामा समर्थन जनाए । उनले राजनीतिक समावेशिता, शक्ति विकेन्द्रीकरण र समतामूलक विकास सङ्घीयताका मुख्य मर्म भएको बताउँदै स्थानीय तहले प्राथमिकता तय गर्दा सूचना र अवस्थाको विश्लेषण गर्नुपर्ने तथा जनताको आवाज सुन्नुपर्ने सुझाव दिए । नुवाकोटको विविधता, संस्कृति, मानव विकास र जनचेतनामा लगानी गर्न आग्रह गर्दै उनले सहभागीले उठाएका कुरालाई कार्यान्वयन गर्न सबै पक्षले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले पञ्चायतकालमा राजपरिवारका सदस्यलाई कुल बजेटको २७ प्रतिशत तलबभत्ता र उनीहरूले नेतृत्व गरेको सामाजिक संस्थामा समेत गरेर ३९ प्रतिशत बजेट विनियोजन गर्नुपरेको तथ्याङ्क प्रस्तुत गरे । स्थानीय तहले बजेट दिन नसक्ने र सङ्घको आँखा पर्न नसकेका क्षेत्रमा प्रदेश नै आवश्यकता भएकाले यसको औचित्य रहेको स्पष्ट गर्दै उनले भने, ‘अहिले सबै तहबाट करिब रु. ३० खर्ब राजस्व उठ्ने र एकै वडाध्यक्षले ३० वटा विषयमा काम गर्न सक्ने स्थिति छ, स्थानीय तह मजबुत भएमा कसैले आपत्ति मान्नुपर्दैन ।’
‘त्रिशूली प्रवाह’का सम्पादक शरण उत्सुकले आर्थिक मन्दीलगायत कारणले धेरै पत्रकार पलायन भइसकेको र छापा माध्यमलाई टिकाउन कठिन परिरहेको अवस्थामा जनताका अपेक्षा पूरा गराउन तथा व्यवस्थाविरुद्धका भ्रम चिर्नका लागि पनि आफ्नो पत्रिकालाई बाहुबलले निरन्तरता दिनुपर्ने बाध्यता रहेको स्पष्ट गरे । उनले पाठकहरूको हौसलाले आफूलाई ऊर्जा मिलेको बताउँदै पत्रिकाका पुराना अङ्क डिजिटलाइज गरिने जानकारी पनि दिए । दिवाभोजसहितको वार्षिकोत्सव समारोह तीन घण्टा चलेको थियो ।
प्रतिक्रिया