धुन्चे । ‘जलविद्युत्, पर्यटन, रसुवागढीनाका पूर्वाधार र शिक्षा, सुस्वास्थ्य र समृद्धि गोसाइँकुण्ड लाङटाङ हाम्रो सदीक्षा’ भन्ने नारासहित ३०औँ वन्यजन्तु सप्ताहको अवसरमा आइतबार चौथो गोसाइँकुण्ड गाउँपालिका कपको १३औँ रेडपाण्डा ट्रफी प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको उपाधि आमाछोदिङ्मो गाउँपालिकाको टोलीले हात पारेको छ ।
उक्त प्रतियोगितामा द्वितीय रसुवाली पारच्याङ युवा क्लब, तृतीय नौकुण्ड र लाहुरे टिम ठाँडे भएका छन् । प्रथम हुनेलाई रु. दुई लाख ५० हजार, द्वितीय हुनेलाई रु.एक लाख ५० हजार र तृतीय हुने दुई टिमलाई रु.७५-७५ हजार नगदसहित प्रमाणपत्र, मेडल प्रदान गरिएको जानकारी गाउँपालिकाले दिएको छ । वैशाख ३ देखि ७ गतेसम्म भएको खेलले रसुवालाई चिनाई जैविक विविधता, रेडपाण्डा एवम् वन्यजन्तुको संरक्षणलगायत आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा वृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ । प्रतियोगिता लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ क्षेत्र सरोकार समाज ल्याकोसको संयुक्त आयोजनामा भएको हो ।
प्रतिक्रिया