तारुका । नुवाकोट जिल्ला, तारकेश्वर गाउँपालिका व्यावसायिक मौरीपालनका लागि उपयुक्त रहेको प्राविधिकले बताएका छन् । तारकेश्वर-२ मा रहेको साना किसान महिला कृषि सहकारीले आयोजना गरेको तीनदिने आधारभूत तालिम समापन कार्यक्रममा मौरीविज्ञसहित जनप्रतिनिधिले उक्त कुरा बताएका हुन् ।
गत चैत २९ देखि ३१ गतेसम्म सञ्चालित उक्त तालिममा सहकारीका २५ जना सदस्य सहभागी रहेको अध्यक्ष कोपिला भट्टले जानकारी दिइन् । तालिमका सहभागीलाई वडाले मौरीजन्य सामग्रीसहित प्राविधिक सहयोग गर्ने तारकेश्वर-३ का वडाध्यक्ष सूर्यमान तामाङले बताए । तारकेश्वर-२ का अध्यक्ष शिवप्रसाद पनेरूले पनि मौरीपालनका लागि उपयुक्त यस वडालाई महको व्यावसायिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । सहकारीको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरेको तालिममा नेपाल मौरीपालक महासङ्घ नुवाकोटका अध्यक्षसमेत रहेका मौरी फार्म तथा घार उद्योगका प्रोप्राइटर भीमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी सीता न्यौपानेले पहिला घरको सन्दुस, बाकस र दराजमा बसेको मौरीबाट वर्षमा तीन–चारपटक मह काढेको र पाँच-सात माना मह निकालेको अनुभव सुनाउँदै अब सिकेको ज्ञानले व्यवसाय गर्न आत्मबल थपेको बताइन् । महको माग बढिरहेकाले छरछिमेकीलाई पनि मौरीपालनमा लाग्न आग्रह गर्नेसमेत उनले बताइन् । सहकारीले यस क्षेत्रमा उत्पादित सबै महको बजारीकरणका लागि पालिकासँग समन्वय गरेर जिम्मा लिने अध्यक्ष भट्टले बताइन् ।
प्रतिक्रिया