धुन्चे । रसुवा जिल्लामा गत चैत २६ देखि २८ गतेसम्म सम्पन्न भएको १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाको पोल्टामा परेको छ ।
प्रथम भएको उक्त पालिकाले सिल्डसहित रु. २२ हजार दुई सय २२, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ भने दोस्रो हुने उत्तरगया गाउँपालिकाले ट्रफी, प्रमाणपत्र, मेडल तथा नगद रु. ११ हजार एक सय ११ र तेस्रो हुने गोसाइँकुण्ड गाउँपालिकाले रु. पाँच हजार पाँच सय ५५ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । चौथो र पाँचौँ स्थानमा रहने क्रमशः नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गरेका थिए भने समापन कार्यक्रममा प्रमाणपत्र, मेडल र नगद रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज लोेप्चन, प्रतिनिधिसभा सांसद मोहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे र गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले वितरण गरेका थिए ।
सो प्रतियोगितामा जिल्लाका पाँचवटा पालिकाबाट छनोट भएका तीन सय छात्रछात्रा सहभागी थिए । प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो तथा एथलेटिक्सका हाइजम्प, लङजम्प, सटपुट, त्रिपलजम्प, ज्याभलिन थ्रो, दौड, रिलेदौडलगायत ५४ विधामा प्रतिस्पर्धा गराइएको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना गरिएको सो खेलकुद प्रतियोगितामार्फत जिल्लालाई चिनाउन र कुनाकाप्चामा रहेका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको रसुवा जिल्ला खेलकुद विकास समिति अध्यक्ष लोेप्चनले जानकारी दिए । प्रतियोगितामा खर्चको विवरण आउन बाँकी रहेकाले करिब रु. १३ लाख खर्च हुने अनुमान गरिएको छ । साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन् ।
प्रतिक्रिया