बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा गत वैशाख १३ देखि सुरू भएको बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज बुधबारदेखि सुरू भएको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनमा भएको प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार गर्नुभएको थियो ।

सेमिफाइनलको पहिलो खेल हिजो सङ्कटा फुटबल क्लब र नेपाल पुलिस क्लबबिच दिउँसो ४ बजे हुनेछ । सङ्कटाले विभागीय टोली त्रिभुवन फुटबल क्लबलाई ३–० गोलअन्तर हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी, नेपाल पुलिसले गण्डकी प्रदेश फुटबल संघलाई ४–० गोलअन्तर हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलको दोस्रो खेल आज बिहीबार रौतहट फुटबल क्लब र एपीएफ फुटबल क्लब भिड्दै छ । रौतहटले रिगल रिसोर्ट मकवानपुरलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । एपीएफले पद्मा स्पोट्र्स क्लबलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रू.पाँच लाख, रू.दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरूङले जानकारी दिनुभयो । सबै खेलको ‘‘प्लेयर अफ द म्याच’’ खेलाडीले रू.पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडीले रू.१० हजार नगद, पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजक जिल्ला फुटबल संघ र संरक्षक विदुर नगरपालिका रहेको प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागीय समूहकासाथै पद्मा स्पोट्र्स क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, रौतहट फुटबल क्लब र गण्डकी प्रदेश फुटबल क्लब समूहको सहभागिता रहेको छ ।
प्रतिक्रिया