+
Search

ताजा अपडेट +

पपुलर +

आधा शताब्दीअघिको सोह्रखुट्टे–त्रिशूली बस

आधा शताब्दीअघिको सोह्रखुट्टे–त्रिशूली बस
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । यो बसको तस्बिर वि.सं. २०२५ तिर चल्ने हिमालय जनता ट्रान्सपोर्टको हो । त्यतिवेला काठमाडौँ सोह्रखुट्टे–नुवाकोट (त्रिशूलीबजार) रूटमा चल्ने यो बस बालाजु–ओखरपौवा–रानीपौवा–पैँतीसकिलो–तिगाउँ–बेलकोट–पिपलटार–बट्टार रूट हुँदै जान्थ्यो । पहिले टाटा र जर्मन कम्पनीको संयुक्त लगानीमा यो रूटमा चल्ने गरेकामा पछि जर्मन कम्पनी बाहिरिएपछि टाटा कम्पनीको बस एकलौटी सञ्चालन भयो ।

बस बिहान र दिउँसो एक–एकपटक चल्ने गथ्यो । कुल ३६ सिट भएको यस बसको भाडा काठमाडौँ–त्रिशूली, त्रिशूली–काठमाडौँ रु. साढे पाँच रहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले बताए । बाटामा यात्रु टिप्दै हिँड्ने हुनाले गन्तव्यमा पुग्न कम्तीमा ५–६ घण्टा लाग्थ्यो, नत्र ६ घण्टा पनि । काठमाडौँ–त्रिशूली रूटमा चल्ने बसका पहिलो चालक तत्कालीन रापंस सत्यमान लामाका भाइ गुन्जमान रहेको लोकभक्त, इन्डो नेपाल रोडवेज सर्भिस, एनपिएस आदिमा पाँच वर्ष सेवा गरेका समाजसेवी नारायणदास रञ्जितले जानकारी दिए । हिमालय ट्रान्सपोर्टपछि नेपालमा सर्वप्रथम बस, ट्रक भित्र्याउने प्रितम सिंहले अन्यसँग मिली कृष्ण ट्रान्सपोर्ट चलाए । त्यसपछि सिंहले एकलौटी रूपमा लोकभक्त ट्रान्सपोर्ट सञ्चालन गरे । उनका नेपाल पब्लिक मोटर सर्भिस (एनपिएमएस), दर्शन बस सर्भिस आदि यात्रु बस पनि चले । सिंहका त्यतिवेला इन्धन ढुवानी गर्ने ट्यांकी, बस र ट्रक गरी तीन सय भेहिकल रहेको आफूले थाहा पाएको रञ्जितले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह