+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगितामा निशान्त र सङ्गीनाले रु.तीन लाख जिते

राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगितामा निशान्त र सङ्गीनाले रु.तीन लाख जिते
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको ‘नवौँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता-२०८३’ आइतबार नुवाकोट, विदुर-४ स्थित इलम प्रशिक्षण केन्द्रपरिसरमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भएको प्रतियोगिताका १७ प्रतिस्पर्धीलाई पछि पार्दै निशान्त विक र सङ्गीना थापाको समूह विजेता बनेको छ ।

Utsuk Books & Stationery

प्रतिष्ठान उपत्यका समन्वय समिति ‘ख’ समूहबाट भाग लिएका विक र थापाको समूहले सिल्डसहित रु.तीन लाख पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी द्वितीय हुने प्रतिष्ठान बागमती प्रदेश ‘क’ समूहका सरोज सिंखडा र जमुना विश्वकर्माले रु.दुई लाखसहित प्रमाणपत्र पाउनुभएको छ । प्रतियोगितामा तृतीय हुने प्रतिष्ठान मधेश प्रदेश ‘क’ समूहका मानव रावत क्षेत्री र भावना अर्यालले रु.एक लाख र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सान्त्वना पुरस्कार प्रतिष्ठान लुम्बिनी प्रदेश ‘ख’ का राजमान खत्री र शान्ता वलीले रु.५० हजार र प्रमाणपत्र पाउनुभएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र समापन आइतबार विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले गर्नुभएको थियो ।

ऐतिहासिक एवम् धार्मिक-सांस्कृतिक जिल्ला नुवाकोटमा भएको प्रतियोगिताले नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गरेको प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले बताउनुभयो । प्रतियोगिता समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानले सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट दुई-दुई समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट दुई समूह र विदेश शाखाका उत्कृष्ट दुई समूह गरी कुल १८ उत्कृष्ट समूहलाई रनिङ सिल्डका लागि प्रतिस्पर्धा गराएको थियो । कार्यक्रमका मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, संरक्षक विदुर नगरपालिका र टोखा नगरपालिका तथा प्रवद्र्धक नुवाकोट उद्योग वाणिज्य सङ्घ थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह