विदुर । २०८२ साल सुरू भएको आज १८ दिन पुगेको छ । सरकारले २०८२ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेअनुसार यो वर्षभरी वैंशाख १ देखि चैत मसान्तसम्म ८८ दिन सार्वजनिक बिदा निर्धारण गरेको थियो । सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको छ ।
२०८२ सालमा ५२ वटा शनिबार बिदा र त्यसबाहेक ३६ दिन देशभर लागू हुने अन्य गरी जम्मा ८८ दिन सार्वजनिक बिदा परेको छ । सरकारले राजपत्रमा प्रकाशन गरेअनुसार २०८२ सालमा पनि २०८१ सालकै बराबर सार्वजनिक बिदा कायम गरिएको छ । २०८१ सालमा ८८ दिन नै सार्वजनिक बिदा कायम गरिएको थियो । यस पटकको सार्वजनिक बिदा तथा दिवसको सूचीबाट ‘जनयुद्ध दिवस’ भने हटेको छ । तर, पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदाले निरन्तरता पाएको छ । पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने/नदिने भन्नेमा नेतृत्वपिछे फरक मत हुँदा यो बिदा अनियमितजस्तै हुँदै आएको थियो । त्यस्तै जनयुद्ध दिवस पनि विवादमा पर्दै आएको थियो । यसअघि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा कायम गरिए पनि सर्वोच्चमा मुद्दा परेपछि यसलाई हटाइएको थियो । सर्वोच्चले जनयुद्ध दिवसलाई संविधानले नै नचिन्ने भनेपछि माओवादीलगायत सशस्त्र द्वन्द्वमा जोडिएका अधिकांश रूष्ट बनेका थिए भने सार्वजनिक बिदा नै नभए पनि उक्त दिनलाई मुख्य दिवसका रूपमा मनाउँदै आएका थिए । तर, यसपटक दिवसको सूचीमा नै ‘जनयुद्ध दिवस’ परेको छैन ।
बिदा कहिले
सार्वजनिक बिदामा वैंशाख १ गते नयाँ वर्ष, वैशाख २९ गते चण्डी र वैंशाख पूर्णिमा, साउन २४ गते जनैपूर्णिमा, साउन ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात् फूलपातीदेखि द्वादशीसम्म दसैँ बिदा, कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कात्तिक १० गते छठपर्व, मंसिर १८ गते धान्यपूर्णिमा, पुस १० गते क्रिसमस डे को सार्वजनिक बिदा दिइएको छ । त्यसैगरी पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्रि, फागुन ६ गते ग्याल्पो ल्होछार, इदउल फित्र र वकर इद (दिन त्यसै बेला तय हुने), फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पूर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ ।
सार्वजनिक पर्व बिदामा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व परेको छ । उक्त दिन सो पर्व मनाउनेको लागि मात्र बिदाको व्यवस्था छ । भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ ९ गते सरस्वती पूजा (शिक्षण संस्था), साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा मात्र सार्वजनिक बिदा छ । दिवस बिदाअन्तर्गत वैशाख १८ गते (मे–१) मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ सहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको दिन सार्वजनिक बिदा परेको छ ।
प्रतिक्रिया