विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक विदामा पनि सेवा प्रवाह गर्ने भएको छ । २०८२ मा १६ वटा सार्वजनिक विदाका दिन पनि जिल्ला प्रशासनले नागरिकता सम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्ने जानकारी गत बिहीबार सार्वजनिक सूचनामार्फत गराएको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा २०८२ वैंशाख १ गतेदेखि २०८२ चैत्र मसान्तसम्मको १६ वटा शनिबारबाहेकका सार्वजनिक विदामा पनि नागरिकतासम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण सेवा सूचारू रहने जनाइएको छ । गत वर्षदेखि सार्वजनिक विदाका दिनमा जिल्ला प्रशासनबाट नागरिकता राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह गरिंदै आएकोमा यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले १६ वटा महत्त्वपूर्ण सार्वजनिक विदाका दिन पनि आफ्ना केही आवश्यक सेवा प्रवाह गर्ने भएको छ ।’’
सार्वजनिक विदाका माथि उल्लेखित ती दिनमा पनि सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आउन जिल्लाबासीलाई सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । सार्वजनिक विदाका दिन पनि केही आवश्यक सेवा प्रवाह गर्ने सरकारको निर्णय निकै सह्रानीय रहेको जनाउँदै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले तोकिएका सार्वजनिक विदामा सेवा लिन आउनेलाई सहज र सरलरूपमा सेवा दिने व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया