+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलको उपाधी सशस्त्र प्रहरीलाई

मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलको उपाधी सशस्त्र प्रहरीलाई
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । गत वैंशाख १३ गते सुरू भई शनिबार सम्पन्न बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी वलको एपीएफ फुटबल क्लबले जितेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको मुख्य आयोजनामा शनिबार भएको अत्यन्त प्रतिस्पर्धात्मक फाईनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई अतिरिक्त सात मिनेट थप गरिएको समयमा १-० गोलको अन्तरले पराजित गरेको थियो ।

दुई विभागीय टिमको खेलमा एपिएफकी जर्सी नम्बर १५ की अनिता केसीले अतिरिक्त थप गरिएको ८६औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जीत दिलाएकी हुन् । खेलमा अनितानै ‘प्लेयर अफ दी म्याच’ र प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बनिन् । उनले प्रतियोगितामा तीन गोल गरेकी थिईन् । उनले सुजिम बजारबाट नगद रू.पाँच हजार पुरस्कारसहित उपहार प्राप्त गरिन् । प्रतियोगिताका विजेता एपीएफले रू.पाँच लाख र उपविजेता नेपाल पुलिसले रू.दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा एपीएफकी रेनुका नगरकोटीले उत्कृष्ट खेलाडी र अञ्जना रानामगरले उत्कृष्ट गोलरक्षक, जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए । नेपाल पुलिस क्लबकी मीना देउवाले उदियमान खेलाडीको रूपमा घोषित भईन् । प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरूङलगायतले शिल्ड, तक्मा र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीले रू.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

नुवाकोट जिल्ला फुटबल संघको सहआयोजना, बागमती प्रदेश खेलकुद विकास परिषद् मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा तीनवटा विभागीयसहित आठवटा टिमको सहभागिता रहेको थियो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले र समापन पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह