
विदुर । भरुवा बन्दुक पड्केर गोली लाग्दा नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का २४ वर्षीय सुवास तामाङको ज्यान गएको छ । गत बुधबार घरनजिकै भरुवा बन्दुक पड्केर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छातीमा चोट लागेर गम्भीर घाइते भएको तामाङको उपचारका लागि त्रिशूली अस्पतालमा ल्याएका उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक्रम तामाङले जानकारी दिए । घटनापछि शङ्कास्पद चारजनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका-१२ का राजु तामाङ, राजन तामाङ, रूपेश तामाङ र धादिङ थाक्रे गाउँपालिका–११ का २८ वर्षीय सरोज तामाङ रहेका छन् । उनीहरूलाई जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतकले असावधानीपूर्वक बन्दुक चलाउँदा आफैंलाई गोली लागेको हुन सक्ने देखिएको प्रहरीले बताएको छ ।