नागढुङ्गा–नौबिसे सडक राति चार घण्टा बन्द

  • त्रिशूली प्रवाह
  • २६ बैशाख २०८२, शुक्रबार १४:२६

काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्डअन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड वैशाख २२ गते सोमबारदेखि रातिमा चार घण्टा बन्द गरी निर्माणको काम भइरहेको छ ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ । काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक तथा सामाखुसी-टोखा (काठमाडौँ) गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली (नुवाकोट) देवीघाट-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।