विदुर । पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधि दुप्चेश्वर गाउँपालिकाले जितेको छ । पालिकाको वडा नम्बर-४ स्थित घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानमा भएको प्रतियोगितामा दुप्चेश्वर, शिवपुरी, बेलकोटगढी, लिखु, तादी, म्यागङ र आयोजक पञ्चकन्या गाउँपालिकाका दुई टिम सहभागी थिए ।
गत बिहीबारबाट सुरु भई शनिबार सम्पन्न फाइनल खेलमा दुप्चेश्वर गाउँपालिकाले आयोजक पञ्चकन्या गाउँपालिका ‘ए’ टोलीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुप्चेश्वरले उत्कृष्ट खेल प्रदर्शन गर्दै पञ्चकन्यालाई पराजित गर्न सफल भयो । प्रतियोगितामा तेस्रो स्थान तादी गाउँपालिका हुँदा चौथो स्थान आयोजक पञ्चकन्या गाउँपालिकाको ‘बी’ टोली भएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुप्चेश्वर गाउँपालिकाका राजीव कँडेल सर्वोत्कृष्ट खेलाडी घोषित भएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने दुप्चेश्वरले रु.एक लाख ५० हजार, उपविजेता (दोस्रो) पञ्चकन्याले रु.७५ हजार, तेस्रो हुने तादीले रु.४० हजार र चौथो हुने पञ्चकन्या ‘बी’ले रु.१५ हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलगायतले पञ्चकन्याले पछिल्ला केही वर्षदेखि खेलकुदमा राम्रो लगानी गरेकोमा प्रशंसा गरेका थिए ।
प्रतिक्रिया