आजसम्मको मानव इतिहास राजनीतिक, सामाजिक र सांस्कृतिक द्वन्द्वको चक्र पार गर्दै आजको व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक समाजमा परिणत भएको हो । चाहे सन् १२१५ मा बेलायतमा भएको राजा र जनताको द्वन्द्वका रूपमा आएको म्याग्नाकार्टा हेरौँ वा सन् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्राम हेरौँ, चाहे सन् १७८९ को फ्रान्सेली क्रान्ति हेरौँ । अनि नेपालमा राणाविरोधी आन्दोलनको विषय हेरौँ । सबैमा सामाजिक यथार्थविरुद्ध सामाजिक आवश्यकता हाबी हुँदै आयो । इतिहासदेखि नै मूल्याङ्कन गर्ने हो भने राजनीतिक, संवैधानिक र कानुनी रूपमा ‘सोसल निड’ले समाजलाई नेतृत्व दिएको देखिए पनि सांस्कृतिक मूल्य र मान्यता, परम्परा, व्यवहार, सोच र सामाजिक चिन्तनका क्षेत्रमा भने समाजमा ‘सोसल फ्याक्ट’ले जरा गाडेर बसेको देखिन्छ ।
नेपालका सन्दर्भमा पनि विश्लेषण गर्ने हो भने वि.सं. २०७२ मा नागरिक स्वतन्त्रतासहितको गणतान्त्रिक संविधान जारी भई लागू भइरहेको अवस्था भए पनि नागरिक समाजलाई नेतृत्व दिने भनिएका राजनीतिक र सामाजिक अभियानकर्मीको सोच, चिन्तन, व्यवहार राजतन्त्रकालीन चिन्तनबाट माथि उठेको देखिन्न । बडादसैँमा पूर्वराजासँग टीका लगाउने र राष्ट्रपतिबाट टीका लगाउने कुरालाई पनि पुरातनवादीले ‘राजा आउने’ आधार भने । समाजमा रहेका ठुलाबडाले टीका लगाएको वा नलगाएका भरमा गणतन्त्रको भविष्य निर्धारण हुने होइन । गणतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता, प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, लोकतान्त्रिक प्रणााली, आवधिक निर्वाचन र निर्वाचित निकायको शासन आजको समय र चेतनाको वास्तविकता हो । यो समयले ल्याएको ‘सोसल निड’ हो । कसैलाई गणतन्त्र मन नपर्न पनि सक्छ । कतिले योभन्दा त्यो ठीक भन्न पनि सक्छन् तर पूर्वराजाले टीका लगाइदिएको भिड हेरेर गणतन्त्रका विकल्पमा चर्चा र बहस गर्न सकिन्न । विगतमा त्यस्तो भयो । अब त्यस्ता बहसको कुनै तुक छैन । कुनै व्यवस्था र प्रणाली आफैँमा पूर्ण हुँदैन । तर, जनताको सङ्घर्ष, चाहना र बदलिँदो समयअनुसार आएको गणतन्त्र र यसका मूल्यमान्यता पहिले नेता र अभियानकर्मीले नै बुझ्नुपर्ने देखिन्छ । नेताले आफन्त मात्र होइन, दलका कार्यकर्तालाई पनि टीका लगाउँदैमा गणतन्त्र खत्तम हुने वा बदनाम हुने नभए पनि मूल सवाल भनेको हामीले कस्तो संस्कृति र सामाजिक मूल्यमान्यतालाई स्थापित गरायौँ र त्यसलाई बढावा दियौँ भन्ने प्रधान हो ।
नेपालको संविधान कानुनअनुसार नेपाली समाज पूर्णतः आधुनिक अधिकार र स्वतन्त्रताले सुसज्जित छ । समाज र संस्कृति एक-अर्काका पूरक हुन् र अलग रहनै सक्दैनन् । समाजको विकासमा संस्कृतिको ठुलो भूमिका रहेको हुन्छ । प्रत्येक समाज सामाजिक यथार्थ तथा सामाजिक र नैतिक सत्यबाट निर्देशित हुन्छन् । सामाजिक वास्तविकताविपरीत कानुन बन्नु पनि हुन्न । त्यस्ता कानुन बनेको भए पनि लागू हुँदैनन् भन्ने कुरा हाम्रो सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान नपाइने कुरा उल्लेख भए पनि लागू भएन । सोबापत कसैलाई कानुनी कारबाही पनि गरिएन । यस्ता कुरा ‘सोसल फ्याक्ट’ भए पनि समाजलाई गणतान्त्रिक र बढी प्रजातान्त्रिक संस्कृतिको निर्माण गरी अघि बढ्नका लागि पुरातन मान्यतालाई मात्र काखी च्यापी हिँड्ने हो भने समाज जहाँको त्यहीँ रहन्छ र प्रगतिशील बन्दैन ।
पुरानो प्रचलन, प्रथा, प्रणालीलाई नबदलेको भए हामी सती प्रथा पनि बदल्न सक्ने थिएनौँ, त्यसैमा अल्झेका हुन्थ्यौँ । अग्रगमनतर्फ लैजानका लागि सामाजिक आवश्यकतालाई विचार गर्नुपर्ने हुन्छ । समाजमा रहेको जुनसुकै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक द्वन्द्वको चुरो भनेको नै ‘सोसल फ्याक्टविरुद्ध सोसल निड हुँदै आएको छ । समाजमा रहेको एउटा समूह भइरहेको वा चलिआएको वा विगतदेखि गरिआएको वा हालकै प्रणालीलाई कायम राख्न चाहन्छ भने अर्काे समूह विगत एवम् वर्तमानको सामाजिक मूल्यलाई प्रगतिशील सुधार वा परिवर्तन गरी नयाँ मूल्यमान्यता वा प्रणालीको स्थापना गर्न चाहन्छ ।
राजतन्त्र र सामन्तीकालमा जनतालाई रैती र आफूलाई ठुलो देखाउन नै राजा र सत्तासीनले आफ्ना भक्तको पङ्क्ति विस्तार गर्न विजयादशमीमा टीका लगाइदिने कार्यलाई उपयोग गर्दै आए । राजतन्त्रकालमा भन्दा पनि अघि बढेर रैती मानसिकताको विकास गर्न गणतन्त्रमा उपल्लो मात्र होइन तल्लोस्तरका नेताले पनि आफ्ना आँगनमा मान्छेलाई लाम लगाए । यो भने पुरानो संस्कृति अर्थात् ‘सोसल फ्याक्ट’लाई बढावा दिनु हो जबकि गणतन्त्र र गणतान्त्रिक शासन सिद्धान्ततः प्रगतिशील अर्थात् ‘सोसल निड’को कुरा हो । कुन नेताले कति धेरै मानिसलाई टीका लगाइदिए भन्ने कुराले सामाजिक परिवर्तन र सामाजिक आवश्यकतामा केही फरक पार्ने पनि होइन । अर्कातर्फ राष्ट्रपतिले लगाइदिने गरेको टीकाको प्रथा र संस्कृतिमा पनि सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । राष्ट्रपतिको कुर्सीमा कुन पार्टीको कुन व्यक्ति आसीन रहेको छ भन्ने कुराले धेरै केही फरक पार्दैन । फरक त त्यो सम्मानित संस्थाबाट हुने गरेको वा थालिएका संस्कृति र प्रणाली बदलिँदो समाज, संस्कृति र चेतना, मूल्यमान्यता सुहाउँदो भयो कि भएन भन्ने हो । त्यसभन्दा पनि मूल कुरा राष्ट्रपति भनेको कुनै व्यक्तिविशेष नभएर मुलुकको सम्मानित र उच्चस्तरको संस्था भएकाले त्यहाँबाट भएका र हुने हरेक गतिविधिले सिङ्गो मुलुकको संस्कृति र सामाजिक चिन्तनको विकासमा भूमिका खेल्ने हुनाले संस्थाले गर्ने काम धेरै विचार गरेर गर्नुपर्ने हुन्छ । त्यसैगरी देशको सम्मानित संस्थाको गरिमा, महत्व, इज्जत कमजोर हुुनु भनेको नेपालीको शिर झुक्नु पनि हो ।
गणतान्त्रिक संस्कृतिमा समाजमा रहेको सामाजिक सद्भाव बढाउन टीकाको महत्व छ । तर, राष्ट्रपति भन्ने संस्थालाई त्यति धेरै औपचारिक पनि बनाउनुहुन्न कि जनताले घुँडा टेकेर टीका ग्रहण गर्नु परोस् र बोल्न पनि नपाइयोस् । त्यसैले संवैधानिक र सम्मानका दृष्टिकोणले राष्ट्रपति उच्च भए पनि मानिसभन्दा बढीको कुनै संस्था र व्यक्ति हुन्न भन्ने यथार्थ भुल्नुहुन्न । सदिऔँ लामो सङ्घर्ष र सामाजिक द्वन्द्वबाट जनताले गणतन्त्र ल्याए अर्थात् मुलुक ‘सोसल निड’लाई आत्मसात् गरी अघि बढिरहेको छ । संविधान, कानुन सोही सामाजिक परिवर्तनलाई सम्बोधन गर्न बनेका हुन्छन् । ती प्रगतिशील र आधुनिक चेतनाले पूर्ण छ । समयअनुसार थप विकसित बन्दै जान्छ । तर, हाम्रा चिन्तन, व्यवहार, संस्कार र कार्यशैलीमा भने जुनसुकै प्रणाली भए पनि आफूलाई ‘राजाको प्रतिलिपि’ देख्ने वा आफूलाई आफ्नो क्षेत्रको ‘राजा’ नै सोच्ने र मानिसलाई आफूलाई ढोग्न वा पुज्न लगाउने सोच पलाउनु गलत मानसिकताको उपज हो । संविधान, कानुन गणतन्त्रतर्फ र हाम्रा व्यवहार राजतन्त्र वा त्यसभन्दा पनि अघि बढेर राणाशासनतर्फ फर्कँदै गयो भने नामको गणतन्त्रले ‘सोसल निड’ सम्बोधन हुन सक्दैन । यस्ता पुरातनवादी, पश्चगामी चिन्तन, व्यवहार र संस्कारले गणतान्त्रिक संस्कृतिको निर्माणमा पटक्कै सहयोग गर्दैन । ‘राजाबास्सा’को रयसी शैली, ठालुपन, मदिरापान सबै मन पर्ने, तर केवल शासनमा राजा बस्नु मात्र नहुने भन्ने कुराले हामी समाजको ‘सोसल निड’माथि भाँजो त हाल्दैछैनौँ भन्ने सवाल जन्मन्छ । यस्ता ‘सोसल फ्याक्ट’ समाजबाट हट्न सकेन भने सामाजिक, राजनीतिक र सांस्कृतिक द्वन्द्व चर्कने खतरा हुन्छ । (लेखक अधिवक्ता हुन्)
थानापति, नुवाकोट
हाल : गोंगबु, काठमाडौँ
प्रतिक्रिया