+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी : रक्तचन्दनपछि सुन तस्करी नाका बन्दै

रसुवागढी : रक्तचन्दनपछि सुन तस्करी नाका बन्दै
त्रिशूली प्रवाह
२ महिना अगाडी

धुन्चे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी पछिल्लो समय स्थलमार्गबाट हुने गरेको छ । कोरोना महामारीपछि चीन सरकारले रसुवागढी नाका दुईतर्फ खुला गरेपछि यो अवैध सामान भित्र्याउने नाकाका रूपमा चर्चामा आएको छ । यसै हप्ता पनि केरुङबाट काठमाडौँका लागि आउँदै गरेको स्याउ बोक्ने कन्टेनरबाट सुराकीका आधारमा सुन बरामद भयो ।

चीनबाट तस्करी भएर सुन नेपाल भित्र्याइने गरिएकामा रसुवागढी नाकाबाट आइतबार स्याउ बोक्ने कन्टेनरबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवा जिल्ला, गोसाइँकुण्ड-२ रसुवागढी सीमा चीनको केरुङ हुँदै नेपाल ल्याइँदै गरेका अवस्थामा गाडीचालकसहित कन्टेनर र सुन जाँचका क्रममा यही जेठ ४ गते बरामद गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीले भन्सार कार्यालय टिमुरेलाई भोलिपल्ट बुझाएको छ । प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गोसाइँकुण्ड-५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोरकुमार भुजेलले चलाएर आएको बा.४ख ६२०१ नम्बरको डिब्बा (कन्टेनर) शङ्का लागी जाँच गर्ने क्रममा उक्त कन्टेनरको अगाडि चालक बस्नेतर्फको ढोका नजिकै भित्रपट्टि फल्स बटम बनाई कालो टेपले बेरेको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु फेला परेको थियो । गत आइतबार करिब डेढ बजेको समयमा खानतलासी गर्दा भेटिएको सात दशमलव ६५३ ग्राम पहेँलो धातुजस्तो देखिने वस्तु बरामद गरिएपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाइएको प्रनाउ शाहीले जानकारी दिए । उक्त सुन बरामद गरिएको समयको मूल्य रु. ११ करोड ११ लाख ६४ हजार रहेको बताइएको छ ।

सो नाकाबाट यसअघि पनि पटक-पटक तस्करी भएर आएको सुन र रक्तचन्दन बरामद गरिएको थियो । नाकामा प्रहरीले विशेष निगरानी बढाए पनि अवैध सामान ओसारपसार र तस्करी हुने क्रम घट्नुको सट्टा बढिरहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । सो नाका ६० देखि ७० का दशकमा अवैध रक्तचन्दन निर्यात गर्ने नाका बनेको थियो । गोरखा भूकम्प र कोरोना महामारीपछि चीन सरकारले नाका खोल्न ढिलाइ गरेकामा पुनः अवैध कारोबार हुन थालेपछि चिन्ता लागेको अमात्यले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह