+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वपश्चिमभन्दा पुरानो पासाङल्हामु राजमार्गको रानीपौवा-पीपलटार खण्ड निर्माणमा दबाब

पूर्वपश्चिमभन्दा पुरानो पासाङल्हामु राजमार्गको रानीपौवा-पीपलटार खण्ड निर्माणमा दबाब
सज्जनउत्सुक सापकोटा
३ महिना अगाडी

विदुर । राष्ट्रिय राजमार्गका रूपमा महत्व बोकेको पासाङल्हामु राजमार्ग स्तरोन्नतिका नाममा एक दशकअघिदेखि भत्काएर छाडिएपछि स्थानीय बासिन्दाले वर्षौँदेखि सास्ती भोगिरहेका छन् । काठमाडौँ-नुवाकोट आवतजावत गर्ने पहिलो र पुरानो मार्ग पुनर्निर्माणमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका नेताले आगामी वर्षको बजेटमा समावेश गर्न जोड दिएका छन् । बजेट बनाउने कार्यमा व्यस्त अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन सरकारकै नेतृत्व गरिरहेका काङ्ग्रेस र एमालेका नेता लागेपछि यस क्षेत्रका जनता यस वर्ष पूर्वपश्चिम राजमार्गभन्दा पुरानो राजमार्गमा बजेट पर्नेमा आशावादी बनेका छन् ।

सन् १९६० (वि.सं. २०१५ तिर) को दशकतिर ट्रयाक (साधारण मार्ग) मात्र खुलेको सो मार्ग त्रिशूली जलविद्युत् आयोजना निर्माणको विशेष प्रयोजनका लागि बनाइएको थियो । वि.सं. २०६८ देखि पछिल्लो स्तरोन्नति थालिएको सो मार्ग ठेकेदार कम्पनी शक्तिशाली भएका कारण पटक-पटक म्याद थप हुँदा पनि बन्न नसकेको स्थानीयवासी बताउँछन् । सडक प्रभावित जनता र जनप्रतिनिधि बर्सेनि सो मार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित गराउन लागे पनि सफल हुन सकिरहेका छैनन् । एमाले नुवाकोटको टोलीले गत महिना उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई २६ बुँदे मागपत्र बुझाइसकेको छ । मागपत्रमा सो मार्गसहित जिल्लाका अन्य सडकमार्ग पुनर्निर्माण र स्तरोन्नतिमा बजेट विनियोजन गरी चाँडो निर्माण सम्पन्न गर्न आग्रह गरिएको एमाले जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनालीले बताए । अघिल्लो बुधबार काङ्ग्रेसका नेता तथा नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित सङ्घीय सांसद अर्जुननरसिंह केसीले बजेट विनियोजन गराउन दबाब दिँदै यस आवमा पनि विनियोजन नभए बजेट पुस्तिका च्यात्नेबाहेक आफूसँग विकल्प नहुने भनी प्रतिनिधिसभा बैठकमा बोलेका थिए । बालाजु-रानीपौवा-त्रिशूली खण्ड काठमाडौँबाट नुवाकोट जोड्ने पुरानो सडक भएको हो । नुवाकोट, धादिङको उत्तरी क्षेत्र र रसुवा जोड्ने सो मार्ग मर्मतसम्भार र पुनर्संरचनाका नाममा सबै क्षतिग्रस्त गराइएको केसीले बताएका थिए । नेपाल-भारत-अमेरिका प्रादेशिक यातायात सङ्गठन (रिजनल ट्रान्सपोर्टेसन अर्गनाइजेसन-आरटिओ) नेपालको प्रथम पञ्चवर्षीय योजनाको अङ्गअन्तर्गत खडा भई वि.सं. २०१३ देखि ०१९ फागुनसम्म परियोजना सञ्चालनमा रही सो सडक निर्माण भएको बुद्धिजीवी रामहरि रिमाल बाजेले जानकारी दिए । उनका अनुसार चितवनदेखि नवलपरासीसम्म पुनर्वास, हेटौँडा टिम्बर कर्पाेरेसन, हेटौँडा-नारायणघाट सडक, भरतपुर कृषि कलेज, सौराहा बसोबासजस्ता परियोजना प्रथम पञ्चवर्षीय परियोजनामा परेका थिए । वि.सं. २०७३ मा पूर्णता दिइने सम्झौता भएको सो सडक ठेकेदारले काम नगरेका कारण सातपटकसम्म म्याद थप भएर पनि ठेक्का तोडिएको थियो । सरकारले अहिले सो मार्ग निर्माणका लागि बजेट सुनिश्चित गर्न सकेको छैन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी भनी चिनिने नुवाकोट सूर्यगढी गाउँपालिका चोगदेका शारदाप्रसाद अधिकारी यसका ठेकेदार रहेका थिए । शक्तिका आडमा ठेकेदारले सडक नबनाएपछि जिल्लाका काङ्ग्रेस, एमाले र माओवादीका नेता, प्रभावितवासी र यस क्षेत्रका जनप्रतिनिधिले पटक-पटक सरकार र मुख्य तीन दलका अध्यक्षको ध्यानाकर्षण गराउँदै आइरहेका छन् । सो मार्ग सुरुमा काठमाडौँको सोह्रखुट्टे र हाल बालाजुबाट सुरु भई तारकेश्वर नगरपालिका हुँदै नुवाकोटका ककनी, बेलकोटगढी नगरपालिकाबाट विदुर नगरपालिकाको पीपलटारसम्म जोडिएको छ ।

सुरुमा बालाजु-त्रिशूली बजारसम्म ७० किलोमिटर दूरी रहेको सो सडकमा धेरै घुम्ती वा मोड थिए । चालीसको दशकसम्म काठमाडौँ वा नुवाकोटका यात्रीलाई सोही सडक एक मात्र विकल्प थियो । पचासका दशकमा गोंगबु बसपार्क निर्माणपछि ६८ किलोमिटरमा बाटो छोटिए पनि घुम्ती र मोडको अवस्था उस्तै थियो । कुनै बस वा ट्रकजस्ता सवारीसाधन कुनै खण्डमा भेट भएमा एकले अर्कालाई बाटो छाड्ने स्थान पाउन मुस्किल हुन्थ्यो । हरेक बजार, चौतारो, पसल आदिमा कुरेर बस्ने यात्रुलाई राखेर बस हिँडाउँदा बस तीनतले भइसक्थ्यो । खाजा वा खान खान सुरुमा रानीपौवामा रोकिने गरिएकामा पछि दुवैको बिच जुरेथुम (३५ किलो) मा रोकिन्थ्यो । मुला, स्ट्रबेरी, काफल, ऐँसेलु, आलु आदि निकै सो क्षेत्रमा फल्ने उत्पादन पनि सोही बसमा राखेर लगिन्थ्यो । पछिल्लो वि.सं. २०६० पछि यो मार्ग रेन्बो ट्राउट माछा हाइवे नामकरण नुवाकोट उद्योग वाणिज्य सङ्घले गराएर यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन भइरहेको थियो । वि.सं. २०७० पछि यो मार्गबाट काठमाडौँ-त्रिशूली सवारीसाधन बिस्तारै चल्न छाडेपछि यस क्षेत्रमा मुला, स्ट्रबेरी, काफल, ऐँसेलु, आलु, रेन्बो ट्राउट माछालगायतको व्यापार बन्द भयो । व्यापार-व्यवसाय बन्द भएपछि त्यस क्षेत्रका बासिन्दा बेरोजगार बन्न पुगे । सरकारी बेवास्ता र ठेकेदारको जानाजान ढिलाइले गर्दा सडकका कतिपय ठाउँ अधकल्चो छाडिएको हुँदा स्थानीयवासीले वर्षौँदेखि दुःखकष्ट पाइरहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सज्जनउत्सुक सापकोटा