धुन्चे । रसुवा जिल्लामा सडक बनेको चार दशकपछि पासाङल्हामु राजमार्गको मूलखर्क खण्डमा ढलान कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय नुवाकोटले मूलखर्क क्षेत्रमा ढलानको कामलाई अघि बढाएसँगै चार दशकपछि पक्की बन्न लागेको हो ।
वि.सं. २०४२ मा निर्माण गरिएको पासाङल्हामु सडकको मूलखर्क खण्ड त्यसताक भौगोलिक अवस्था भन्दै कालोपत्रेसमेत हुन नसक्दा सवारीसाधन आवत–जावत गर्न निकै कष्टकर थियो । अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने सडकको मूलखर्कमा धेरै पानी पर्ने, उच्च चिसो हुने भएका कारण कालोपत्रे सडकभन्दा ढलान सडक बढी टिकाउ बन्दै गएपछि यो क्षेत्रमा ढलान गरिएको सडक डिभिजन कार्यालयका प्रमुख सुबोधकुमार देवकोटाले बताए । ४० वर्षअघिदेखि मूलखर्कलगायत राम्चेका विभिन्न भागमा सडक अवरोध भोग्दै आएका यातायात सञ्चालक तथा जिल्लावासी मूलखर्क क्षेत्रमा ढलान सुरु भएपछि खुसी भएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । सो क्षेत्रको ढलान सम्पन्न भएपछि स्थानीयको जीवनस्तर र यातायातलाई सहजता ल्याई दिगो सुधार हुने विश्वास रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले लिएका छन् । कार्यालय प्रमुख देवकोटाका अनुसार अघिल्ला वर्षमा गरिएको सडक ढलान टिकाउ भएपछि यसैअनुरूप यस वर्ष मूलखर्कमा भ्याटसहित रु. तीन करोड चार लाख ७२ हजारको लागतमा आठ सय ५० मिटर थप सडक ढलानको काम असारसम्म सकिनेछ । उक्त क्षेत्रमा बर्सेनि पहिरो जाने, सडक खाल्डाखुल्डी, भासिने र पानी परेपछि पहिरो जाने समस्याले बर्सेनि बर्खाको समयमा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।
प्रतिक्रिया