धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेस्थित रसुवा माविको बालकक्षाकोठामा गोसाइँकुण्ड गाउँपालिका र युरोपियन युनियनको सहयोगमा विन परियोजनाले ऊर्जा प्रबलीकरण गरी हस्तान्तरण गरेको छ ।
हिमाली क्षेत्रमा चिसोबाट बालबालिकालाई बचाउन न्यानो कक्षाकोठामा सहज रूपमा पढाउन ऊर्जा प्रबलीकरण गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । यसअघि नै निर्माण भएको बाल कक्षाकोठमा ऊर्जा प्रबलीकरण गरी न्यानो बनाउन कुल रु.१० लाख सात हजार खर्च भएको पालिकाले जानकारी दिएको छ । ऊर्जा पबलीकरणका लागि पालिकाको रु. तीन लाख ५० हजार र बाँकी युरोपियन युनियनको सहयोगमा विन परियोजनाले लगानी गरेको जानकारी सो अवसरमा गराइएको थियो । ऊर्जा प्रबलीकरण गरिएको कोठा जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाले विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घलेलाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेललगायतले जिल्लाका उच्च क्षेत्रका विद्यालयमा यो प्रविधि प्रभावकारी हुने भएकाले अन्य क्षेत्रका विद्यालयमा पनि सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा ऊर्जा प्रबलीकरणबारे परियोजनाका प्रतिनिधिले यसले कोठालाई गर्मीमा चिसो र जाडोमा न्यानो राख्ने बताए ।
प्रतिक्रिया