विदुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा चालु आव २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमानुसार जोनमा कृषियन्त्र सहयोग कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र बिक्री गरिएको छ ।
कार्यालयको कार्यक्षेत्रका कृषकलाई ४५ थान पेट्रोल मिनिटिलर, ५९ थान डिजेल मिनिटिलर, चारवटा पावर स्प्रेयर, दुईवटा ब्रस कटर र एक सय २६ थान स्प्रेयर पम्पलगायत प्याकेजिङ्ग लेबिलिंङ्ग तथा पोस्ट हार्वेस्ट कार्यक्रमअन्तर्गत डिजिटल काँटा र प्लास्टिक किरेट समेत वितरण गरिएको परियोजना कार्यान्वयन एकाईको प्रमुख रविन्द्र पौडेलले जानकारी दिनुभयो । किस्पाङ १, २, ३, ४ र म्यागङ २, ३, ४, ५, ६ मा हाल तरकारी जोन सञ्चालन भइरहेको छ । त्यस क्षेत्रका छनोट भएका कृषकको खातामा कृषि यन्त्रको ५० प्रतिशत रकम भुक्तानी गरिएको समेत उहाँले बताउनुभयो । एकाइका प्रमुख पौडेलले भन्नुभयो, ‘‘कृषकको माग र आवश्यकताको आधारमा यन्त्र तथा अन्य सामग्री वितरणले कृषकको उत्पादनमा वृद्धिसँगै उत्पादन लागत घटाएको छ ।’’
मिनिटिलरको प्रयोगमार्फत् कृषि कर्ममा संलग्न किसानलाई आधुनिक कृषि प्रणालीमा जोड्न सजिलो हुने विश्वास परियोजनाले लिएको छ । कृषिलाई आधुनिकीकरण गर्नको लागि यस परियोजनाले कृषि यान्त्रीकरण, साना सिँचाई निर्माण तथा मर्मत, स्थायी प्लास्टिक घर निर्माणलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जोन क्षेत्रमा उत्पादनमा वृद्धि गराउने र समयको बचत गराउने उद्देश्यले औजार वितरण गरिएको प्राविधिक भुवन तिमिल्सनाले बताउनुभयो ।
चालु आवका लागि कृषि यान्त्रीकरण सहयोग कार्यक्रम शीर्षकमा रू.३० लाख बजेट विनियोजन भएको समेत उहाँले जानकारी दिनुभयो । परियोजनाको सहयोगले २९ कृषि फर्म, ६ कृषक समूह, १२ कृषि सहकारी लाभान्वित भएका छन् भने दुई सय ५० भन्दा कृषकले कृषि सामग्री अनुदानमा पाएका छन् ।
प्रतिक्रिया