देउराली । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नुवाकोट जिल्लाको त्रिशूलीबजारदेखि देउराली हुँदै किम्ताङसम्म पक्की एवम् गुणस्तरीय सडक निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन् । उनले आइतबार ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सिएफआरडी) को सहयोगमा म्यागङ-४, किम्ताङमा निर्मित चिया कारखाना र आधुनिक प्रविधिको चिया प्रशोधन गर्ने यन्त्र स्थानीय सहकारीलाई हस्तान्तरण गर्दै रमणीय ग्रामीण भेगमा बाटो पक्की बनेमा चीन सरकारले सो क्षेत्रमा अन्य कृषि उत्पादनमा पनि सहयोग गर्ने आश्वासन दिए ।
यसअघि उनले भवन र यन्त्र सामग्री सञ्चालन तथा व्यवस्थापन गर्ने गरी नुवाकोटस्थित किम्ताङ भिलेज टी कोअपरेटिभ चिया सहकारीलाई हस्तान्तरण गरेका थिए । कोअपरेटिभका प्रमुख सरमन तामाङलाई परियोजना हस्तान्तरण गरिएको हो । सो समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, प्रदेश योजना आयोग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, सिएफआरडीका देशीय निर्देशक झाउ झिकियाङ, म्यागङ पालिकाका अध्यक्ष आशा तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई, म्यागङ-४ का वडाध्यक्ष कमलबहादुर तामाङ, विकासका लागि विश्व सहकार्यका प्रमुख मुक्ति मरासिनीलगायतको उपस्थिति थियो । १२ मिटर चौडाइ, २४ मिटर लम्बाइ र चार मिटर चौडाइको कोठा र प्रशोधन गर्ने यन्त्र चार थान हस्तान्तरण गरिएको थियो ।
दिक्कलाग्दो बाटो
सो अवसरमा राजदूत छनले त्रिशूलीबाट गाउँसम्म आउने सडकको दुरवस्था देख्दा दिक्क लागे पनि गाउँ रमाइलो लागेको र स्थानीय मानिस मिहिनेती भएकाले फेरि आउने बताउँदै मुख्यमन्त्री लामालाई बाटो सुधारका लागि बजेट विनियोजन गर्नसमेत आग्रह गरेको कोअपरेटिभका अध्यक्ष तामाङले जानकारी दिए । चियामा जस्तै तरकारी र खाद्यान्नमा हामी सहयोग गर्न चाहन्छौँ । यहाँ उत्पादित चिया, तरकारी र खाद्यान्न लैजान खासै दूरी टाढा नरहेको, नुवाकोटबाट चीन ८० किलोमिटर मात्र पर रहेकाले सडक सहज हुने हो भने यस क्षेत्रका बासिन्दाले अवसर पाउनेसमेत राजदूतले सो कार्यक्रममा बताए । वडाध्यक्ष कमलले किम्ताङ गाउँ अहिले चियामय भएको र चियाले नै गाउँलाई चिनाएको बताउँदै गाउँलाई समृद्ध बनाउने अपेक्षासहित सबैलाई सहयोग गर्न आग्रह गरे ।
चिनियाँ राजदूत शनिबार एक रात नुवाकोटमा रहेको स्थानीय फेमस फार्म हाउसमा बसेको र फर्कने क्रममा नुवाकोटमा चिनियाँहरूले पुनर्निर्माण गरिरहेको नुवाकोट दरबार र अन्य सम्पदाको पनि अवलोकन गरेको थाहा भएको छ ।
प्रतिक्रिया