+
Search

ताजा अपडेट +

पपुलर +

भुइँमान्छे

भुइँमान्छे
रामशरण प्याकुरेल
३ हप्ता अगाडी

 

तिनका घाममा डढेको छाला,
तिनको पसिनामा लेखिएको गाथा
कागज छैन, कलम छैन हातमा,
कसले लेख्ने उसको पीडा रातमा ?

उनका सपना सहरमा हराउँछन्,
उनका शब्दहरू मौनतामा डुबुल्किन्छन््,
कविता बन्छ बडाको कथा,
तर सुनिन्न भुइँमा बस्नेको व्यथा

तिनको गीत हावामा हराउँछ,
तिनको आवाज
कसैको मन नछिचोलेर थचारिन्छ,
किन तिनका कथा लेखिँदैन ?
सायद कलम पनि पाटेअल्छी हुँदो हो

किन भुइँमान्छेका कथा लेखिन्न ?
धर्ती छोएका ती खुट्टा नहेरी,
ठेला उठेका पौँजा नसुमरी
समय किन लुटपुटियो महलभरि ?
चिनिएका अनुहारमा खनिएका शब्दहरू,
भुइँमान्छेको पीडा त मौनमै गणना

तिनको रोटी, उनको पेटको लडाइँ,
कथा त बन्छ केवल शाही सानको,
माटामा खेल्ने ती हातहरू सुक्छन्,
किन कोरिन्नन् पूरा कविता भुइँका ?
शब्दहरू पनि सायद कन्जुस् छन्,
बिरलै पढिन्छन् भुइँमान्छेका कथाहरू ।

आज जमिन छाड्नेहरू
आज जमिन छाड्दै छन् बादल चुम्नेहरू,
गर्वले चुलिएको छ निधारका नक्कली डोबहरू,
तर बिर्सिएझैँ लाग्छ भुइँका कुरा

हावा चढे पनि, थामिन्छ जिन्दगी धर्तीमै,
पाखुरा फिँजाएर उडे पनि सबै फर्किन्छन् भुइँमै,
भोलि जब समयको आँधी चल्नेछ,
गर्वको महल पनि ढलेर जमिनमै पल्टिनेछ

जग बलियो नबने
जग बलियो छैन भने, इँटा के कामको ?
भित्ताले लुकाउला क्षणभर, सत्य त छ घामको,
भड्किलो रङले सजिए पनि स्वरूप,
भित्रैबाट खोक्रो भए, के टिक्ला त्यो रूप ?

आँधी आउँछ, वर्षा पर्छ, समय बग्छ,
जसको जग कमजोर छ, त्यो घर त ढल्छ,
जीवन पनि यस्तै हो, सपना पनि त्यस्तै,
जग बलियो नबने, सब बग्छ सँगै

नबिर्स है
हिजो तिमी जब कमजोर थियौ,
साथ दिन उनीहरू उभिएका थिए
भोक, घाम, आँधीमा सँगै हिँडे ती पाइलाहरू,
आज तिमी उचाइमा, तर नछाड है तिनका स्वरहरू

तिमी हुर्किएको त्यो भुइँमाटो सम्झ,
जहाँका हातहरूले तिमीलाई बनाएका छन्,
सँगाल घर र बस्ती, ती गल्लीका सम्झना,
जहाँ पुगे पनि नबिर्स ती भुइँमान्छेका उदात्त भावना ।

                                                                         गेर्खुटार, नुवाकोट

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामशरण प्याकुरेल