चोगदे । नुवाकोट जिल्लाको पुरानो विद्यालयमध्येको वागेश्वरी माविले शनिबार हीरकजयन्ती मनाएको छ । सूर्यगढी-३ मा रहेको विद्यालयको हीरकजयन्ती समारोहको पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वि.सं. २००८ मा स्थापित विद्यालयको हीरकस्तम्भ अनावरण तथा विद्यालयका संस्थापक र सहयोगी दातालाई सम्मान गरिएको थियो ।
समारहोमा पूर्वप्रधानमन्त्री दाहालले शिक्षा समग्र राष्ट्रको विकासको पहिलो पूर्वाधार भएकाले विद्यालयले आधुनिक प्राविधिक सिप र ज्ञान प्राप्त गरेका जनशक्ति उत्पादनका लागि सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । शैक्षिक क्षेत्रमा संविधानप्रदत्त अधिकारको कार्यान्वयन रक्षा र विकासमा वागेश्वरी माविको अहम् भूमिका रहेको र यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले हीरकस्तम्भको अनावरण, विद्यालयको संस्थापकको नाम उल्लिखित शिलापत्र अनावरण, विद्यालयलाई विशेष सहयोग उपलब्ध गराउने, जग्गादान गर्ने र वि.सं. २०६१ मा उमावि बनाउन रु. पाँच हजारभन्दा बढी सहयोग गर्नेको नाम उल्लिखित ताम्रपत्र पनि अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा वि.सं. २०६४ पछिका विविध शैक्षिक, आर्थिक गतिविधि, भौतिक प्रगतिलगायत विषयवस्तु समेटी प्रकाशन गरिएको स्मारिका विमोचन गरिएको थियो । त्यसैगरी स्मारिका प्रकाशनार्थ तथा हीरकजयन्ती समारोहका लागि सहयोग गर्ने, विशेष सहयोग गर्ने, जग्गा दान गर्ने जग्गादाता, विद्यालयमा २० वर्र्षभन्दा बढी सेवा गर्ने शिक्षक तथा प्रधानाध्यापकलाई दीर्घसेवा सम्मान र पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत सम्मान गरिएको थियो । वि.सं. २००८ मा प्राथमिक, २०२२ सालमा निमावि, २०३७ सालमा माध्यमिक, २०६१ सालमा कक्षा ११-१२ र वि.सं. २०७९ मा प्राविधिकधार बालीविज्ञान कक्षा ९-१२ सञ्चालन गरिएको प्रधानाध्यापक जनार्दन अधिकारीले जानकारी दिनुभयो । विद्यालयबाट हालसम्म एसएलसी र एसइई गरी दुई हजार पाँच सय र कक्षा १२ मा करिब एक हजार पाँच सय विद्यार्थीले उत्तीर्ण भएका छन् । ती विद्यार्थी अहिले राजनीति, निजामती सेवा, शिक्षक सेवा, स्वास्थ्य सेवा, सेना, प्रहरी र व्यावसायिक क्षेत्रका उच्च स्थानमा पुगेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, संविधानसभा सदस्य राममाया बोगटी, बागमती प्रदेश सभा सदस्यद्वय राधिका तामाङ र रामप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नेकपा (एमाले) नुवाकोटका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वराज्यमन्त्री बद्रीप्रसाद मैनाली, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारीले समयानुकूल र समुदायको आवश्यकताअनुसार विद्यालयको विकास तथा विस्तार गरिरहेको बताउनुभयो । विद्यालयको हर पक्षलाई उँचो राख्न जनसमुदाय, जनप्रतिनिधि र शिक्षक तथा विद्यार्थीको साथ र सहयोग रहेको उहाँको भनाइ छ । कक्षा १२ सम्म अध्यापन भइरहेको सो विद्यालयमा तीन सय ५० भन्दा बढी विद्यार्थी छन् । विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकधार बालीविज्ञान विषयको समेत पठनपाठन हुनाका साथै सुस्त श्रवण स्रोत कक्षासमेत सञ्चालन गरिएको छ ।
प्रतिक्रिया