+
Search

ताजा अपडेट +

पपुलर +

सुविताको आम्दानीको स्रोत अकबरे खुर्सानी

सुविताको आम्दानीको स्रोत अकबरे खुर्सानी
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

धुन्चे । रसुवा जिल्ला, उत्तरगया गाउँपालिका-३, पैरेगाउँ अहिले अकबरे खुर्सानी उत्पादन क्षेत्रको रूपमा परिचित हुन थालेको छ । पालिकाको सहयोगमा विगत दुई वर्षदेखि त्यस क्षेत्रका महिलालाई प्राविधिक तालिमसहित खुर्सानीको बिरुवा निःशुल्क वितरण गरेपछि अकबरे खुर्सानी खेतीप्रति त्यस क्षेत्रका महिला आकर्षित भएका छन् । गत वर्षदेखि अकबरे खुर्सानीबाट आय-आर्जन हुन थालेको छ ।

गाउँका आमाहरूले अकबरे खुर्सानी खेतीबाट आम्दानी गरेको देखेर स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुविता गुरुङ पनि आकर्षित हुनुभयो । उहाँले एक सफल युवा किसानको रूपमा स्थापित हुन्छु भनेर यसै वर्षदेखि पालिकाले दिएको सात सय बिरुवा खेर गइरहेको जमिनमा रोपेर खेती सुरु गर्नुभयो । खेती गर्नुभन्दा पहिले थ्रिजी कटिङसम्बन्धी तालिम लिएर उहाँले सुरु गरिएको खुर्सानी अहिले फल्न थालेको छ । बजारमा केजीको रु. तीन सयमा खुर्सानी बिक्री हुने गरेको छ । सुविताले जस्तै अन्य विद्यार्थीले पनि अध्ययन सँगसँगै तरकारी खेती गर्न चाहे पालिकाबाट प्राविधिक र बिउलगायत आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो । सुविताको मिहिनेत देखेर उपाध्यक्ष चमेली गुरुङ, वडा नम्बर-३ का अध्यक्ष लालबहादुर तामाङले पनि प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह