विदुर । पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा नुवाकोटको पनि नाम आउन थालेको छ । राजनीति र अन्य क्षेत्रमा अग्रपङ्क्तिमा नाम आउने गरे पनि हिमाल आरोहण गर्नेमा नुवाकोट विगतमा गुमनाम नै थियो ।यसै वर्षको सिजनमा फरक-फरक टोलीमा सहभागी भएर नुवाकोटका दुई युवा एक दिनको फरकमा सगरमाथा चढ्न सफल भएका छन् ।
किस्पाङ-४, साल्मेका २६ वर्षीय सिपबहादुर तामाङ (१९ मे, २०२५) जेठ ५ गते बिहान ७ बजे विश्वको सर्वोच्च शिखर चोमोलोङ्मा पुग्न सफल भएको स्थानीय रवीन्द्र तामाङले जानकारी दिनुभयो । पर्यटक मार्गदर्शकका रूपमा काम गर्दै आउनुभएका सिपबहादुरले पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको समाचारले गाउँवासी खुशी भएको उहाँलाई भेट्न, स्वागत र सम्मान गर्न आतुर रहेको किस्पाङ-४ का पूर्वअध्यक्ष एकराज घलेले बताउनुभयो । पालिकाबाट सगरमाथा सफलतापूर्वक आरोहण गर्नुभएका सिपबहादुरलाई पालिकाले विशेष सम्मान गर्ने योजना रहेको उपाध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो । सिपबहादुर अर्जेन्टिनी नागरिक मि. माटियस सान्टयागो मिराससँगैको टोलीमा पर्यटन मार्गदशकका रूपमा पुग्न सफल हुनुभएको हो ।
सगरमाथा आरोहण सिजन लागेका वेला नुवाकोटका डा. अरविन्द्र खड्काले दोस्रोपटक विश्वकै सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएको छ । विदुर-२, बोहरापानीका खड्का सेभेन समिट ट्रेक्सको १७ सदस्यीय टोलीमा सहभागी हुँदै ४ जेठ, २०८२ (१८ मे, २०२५), बिहान ४ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो ।
प्रतिक्रिया