साल्मे । दुग्ध उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउने किस्पाङ गाउँपालिकाले वडा नं ४ साल्मेमा जेठ १५ गते पाडी वितरण गरेको छ । साल्मेका कृषकलाई उन्नत नश्लका पाडी ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष विनोद तामाङले बताउनुभयो ।
पालिकाको चालू आर्थिक वर्षको कार्यक्रमअनुसार पाडी प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु. तीन लाख ५० हजारबाट १३ वटा पाडी पशु सेवा शाखाको समन्वयमा स्याङ्जा जिल्लाबाट खरिद गरेर ल्याइएको थियो । यस कार्यक्रममार्फत प्रत्येक छनोट भएका कृषकको लागत साझेदारी रु.२६ हजार रहेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले कृषकले दुग्ध उत्पादनलाई नभई व्यावसायिक पेसाको रूपमा अघि बढाउन सकून् भन्ने उद्देश्यले पाडी वितरण गरिएको बताउनुभयो । नश्ल सुधार गरिएको पाडी वितरणले दुध उत्पादन वृद्धि हुने अपेक्षा पालिकाले गरेको छ । स्थानीय कृषकले आय-आर्जन बढ्नेछ र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्न बाटो खुल्ने बताइएको छ । पाडी वितरण कार्यक्रममा पशु शाखा प्रमुख डा. प्रेम जिएम, प्राविधिक श्रीकृष्ण बजगाईं, सुरेश न्यौपाने, आकाश न्यौपाने, सुवास तामाङलगायतको सहभागिता रहेको पालिकाका ज्ञानेन्द्र गिरीले बताउनुभयो ।
प्रतिक्रिया