धुन्चे । रसुवा जिल्लाबाटै सगरमाथा चढ्ने पहिलो महिलाको सूचीमा पार्वती जोशीको नाम दर्ज भएको छ । जोशी यस्तो व्यक्तित्व हुनुहुन्छ, जो पहिलोपटक विना कुनै शेर्पाको सहयोग सगरमाथा चढ्नुभयो । ‘सगरमाथा चढ्न शेर्पा चाहिन्छ’ भन्ने आमधारणा तोड्दै, रसुवा आमाछोदिङ्मो-४ की जोशी वि.सं. २०८२ जेठ ५ (सन् २०२५ मे १९) मा इतिहासमा पहिलोपटक बिना कुनै शेर्पाको सहयोगमा ८८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पाइला टेक्ने रसुवाको पहिलो महिला बन्नुभएको छ ।
‘मेरो यो यात्रा केवल आरोहण थिएन, यो एक सपना थियो, आत्मविश्वास, साहस र अथक तयारीका बलमा साकार भएको छ,’ उहाँले भन्नुभयो । पिता कान्छाकाजी (आलुम) जोशी र माता लक्ष्मी जोशी (घिसिङ) को छोरी पार्वतीको जन्म वि.सं. २०४९ पुस ९ (सन् १९९२ डिसेम्बर २४) मा भएको हो । बाल्यकालदेखि नै खेलप्रेमी उहाँ भलिबलको उत्कृष्ट खेलाडीसमेत हुनुहुन्छ । राष्ट्रियस्तरको प्रतियोगितामा समेत उहाँले आफ्नो खेल कौशल देखाउनुभएको छ । ‘भलिबल खेल्दै दौडिँदै गर्दा नजिकको हिमालले मलाई सधैँ तानिरहन्थ्यो,’ उहाँले भन्नुभयो । बाल्यकालदेखि नै पदयात्रा र खेलसँग नजिक रहनुभएकी उहाँ अन्ततः ट्रेकिङ गाइड बन्न पुग्नुभयो । हाल इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्वकर्ताका रूपमा कार्यरत रहँदा जोशीले ट्रेकिङका क्रममा धेरै हिमाली सौन्दर्यको दृश्यावलोकन गर्नुभएको छ । ‘यही बाटो हुँदै पर्वतारोहणमा लाग्ने रहर जाग्यो,’ उहाँले भन्नुभयो, ‘सन् २०१६ मा मैले पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिएँ ।’ ‘जब पर्वतारोहणको तालिम लिएँ, तब लाग्यो – अब सगरमाथा पनि चढ्न सक्छु,’ पार्वतीले भन्नुभयो । उहाँले एडभान्स कोर्स सन् २०२० मा पूरा गर्नुभयो । पार्वतीले काठमाडौँबाट वि.सं. २०८२ वैशाख ७ (सन् २०२५ अप्रिल २०) मा यात्रा सुरु गर्नुभएको हो र २०८२ जेठ ५ गते (सन् २०२५ मे १९) मा सगरमाथाको शिखरमा पाइला टेक्नुभयो । जेठ २४ गते शनिबार (सन् २०२५ मे २४) मा काठमाडौँ फर्किनुभयो । यो पूरा यात्रामा उहाँले कुनै शेर्पाको सहयोग नलिई आफ्नो निर्णय, आरोहण रणनीति र साहसमा भर गरेर इतिहास रच्नुभयो । सम्पूर्ण नेपाली महिलाका लागि उहाँ अहिले प्रेरणाको स्रोत बन्नुभएको छ ।
प्रतिक्रिया