भौगोलिक बनोटका कारण नेपाल कृषि विकासका लागि अवसरै-अवसर भएको देश हो । सरकारले देशको अर्थतन्त्र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताइरहे पनि स्वदेशी उत्पादन आवश्यकताअनुरूप बढाउन नसक्दा अधिकांश वस्तु आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । नेपालमै उत्पादन हुने खाद्यान्नसमेत आयात गर्नुपर्ने अवस्थामा देश पुगेको छ ।
भन्सार विभागले चालू आवको नौ महिनामा रु. एक सय ५४ अर्ब ३६ करोडको खाद्यान्न आयात गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागको तथ्याङ्कअनुसार देशले निर्यातका तुलनामा आयात दसौँ गुणा बढी गरिरहेको छ । तीनचौथाइ महिनामा रु.१८ अर्ब पाँच करोडको धान, रु. १३ अर्ब ७८ करोडको चामल र रु. १३ अर्ब ७३ करोडको मकै आयात भएको छ । सो अवधिमा रु. सात अर्ब ६४ करोडको स्याउ, रु. ६ अर्ब ४५ करोडको लसुन र रु. ६ अर्ब दुई करोडको आलु आयात भएको छ । यी खाद्य पदार्थ आयातको कुल रकम जोड्दा रु. एक खर्ब ५४ अर्ब २६ करोड हुन्छ । नेपाल मकै र धान उत्पादनका लागि उपयुक्त वातावरण भएको मुलुकमा परे पनि ठुलो मात्रामा उत्पादन हुन नसक्दा आयात गर्नुपर्ने बाध्यता छ । स्थानीय उत्पादनको माग धान्न नसक्दा धान, चामल र मकैलगायत खाद्यान्नको आयातमा निरन्तर वृद्धि छ । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकोलगायत कारण स्थानीय उत्पादनले माग धान्न नसक्दा खाद्यान्न आयात बढ्दो क्रममा रहेको हो । सरकारले यसलाई गम्भीर रूपमा लिएर उचित नीति नलिए नेपाल थप समस्यामा पर्न सक्ने भनी सङ्घीय संसद्मा समेत वेलावेलामा आवाज उठ्ने गरेको छ ।
नेपालको वैदेशिक व्यापार नियाल्दा नेपालीका भान्सामा प्रयोग गरिने वस्तुदेखि औषधि, लत्ताकपडा, सवारीसाधन, पेट्रोलियमलगायत अन्य वस्तु आयात गरिन्छ । यसले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । देशको अर्थतन्त्रको सबलीकरणका लागि कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसका लागि उन्नत बिउबिजनको प्रयोग बढाउनुपर्छ । आज विश्वभरि जनसङ्ख्या वृद्धि भई रु. आठ अर्ब नाघेको छ । यो जनभारलाई भरणपोषण गर्न कृषि विकासबाहेक अर्को विकल्प छैन । वस्तुतः मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय कृषि हो । नेपालमा झन्डै दुईतिहाइ जनता अहिलेसम्म पनि कृषि व्यवसायमा आश्रित छन् । कृषिप्रधान देशमा केही वर्षयता कृषि उत्पादन अपुग भएकाले आयात बढिरहेको छ । एकातिर कृषियोग्य जमिन प्रत्येक वर्ष मासिँदै र बाँझिँदै गएको छ भने अर्कातिर ग्रामीण जनताको सहरतिर बसाइँसराइले कृषि उत्पादन घट्दै गएको छ । आगामी दिनमा पनि यस्तो अवस्था विद्यमान रहिरहनेछ । अहिले जलवायु परिवर्तनले सबैभन्दा बढी नकारात्मक प्रभाव कृषि क्षेत्रमा परेको छ । यस्ता परिवर्तनका कारण नेपाललगायत विश्वका सबैजसो देशमा मौसमअनुकूलको खेती गर्ने अवस्था छैन । यसले गर्दा कृषि उत्पादन घट्नु स्वाभाविक हो ।
अझै नेपालका अधिकांश कृषकले आफ्ना खेतीयोग्य जमिनमा रैथाने बिउबिजन प्रयोग गर्दै आइरहेका छन् । भविष्यमा कृषि उत्पादन उल्लेख्य रूपमा बढाउन उन्नत बिउबिजनको व्यवस्था गरी प्रयोग गर्नका लागि उत्प्रेरित गर्नु आवश्यक छ । नेपालमा आजसम्म कुन जग्गामा कस्ता बिउबिजन प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने विषयको अध्ययन भएको छैन । त्यसैले यस सम्बन्धमा अनुसन्धान गरी यथोचित ठाउँमा उपयुक्त बिउबिजन सिफारिस गरेर किसानलाई प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । यसो गर्न सकेमा भविष्यमा देश कृषि उत्पादन वृद्धि भई खाद्यान्नका लागि आत्मनिर्भर हुनेछ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । पर्याप्त सिँचाइविना उन्नत बिउबिजन प्रयोग गरिए पनि अपेक्षाअनुसार फाइदा लिन नसकिने भएकाले सिँचाइ सुविधा नपुगेका जमिनमा लघु सिँचाइ, स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ आवश्यकताअनुरूप उपलब्ध गराउनु जरुरी छ । विगतमा सञ्चालनमा रहेका र हाल बन्द रहेका चन्द्र, गण्डक र जुद्धजस्ता पुराना नहरको मर्मतसम्भार गर्नु आवश्यक छ ।
नेपालको निर्यात व्यापारमा कृषिजन्य वस्तुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भविष्यमा उन्नत बिउबिजनको प्रयोग बढाउन सके कृषि उत्पादन वृद्धि भई व्यापार प्रवद्र्धनमा थप सघाउ हुनेछ, यद्यपि यी वस्तु निर्यात गर्न सहज छैन । त्यसैले समय र लागतको विश्लेषण गरी क्वारेन्टाइन चेकपोस्ट सम्बन्धित भन्सार कार्यालय नजिक निर्माण गर्नु आवश्यक छ । यसबाट कृषिजन्य वस्तुको निर्यात व्यापार अभिवृद्धि गर्न सहज हुनेछ । पर्याप्त लगानीविना नेपालको खेतीयोग्य जमिनमा उन्नत बिउबिजन व्यापक प्रयोग गर्न सम्भव छैन । तिनको परीक्षण गरी किसानलाई सुपथ मूल्यमा वितरण गर्न ठुलो धनराशि खर्च गर्नुपर्छ । हालसम्म पनि सरकारले कृषि विकासका लागि छुट्याइएको रकम पर्याप्त नभएकाले भविष्यमा उक्त रकम कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत पुर्याउनुपर्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया