धुन्चे । गत हप्ताभरि परेको वर्षा र हिमपातले रसुवाका बर्खे आलुखेती गरिरहेका किसानलाई राहत मिलेको छ । उच्च भेगमा परेको पानी र हिउँले जमिनमा चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने र गत्लाङ क्षेत्रमा हिमपात भएपछि आलुमा उल्लेखनीय सुधार हुने अपेक्षा किसानले गरेका छन् । मौसमले साथ दिइरहेकाले यस वर्ष आलु धेरै फल्ने अपेक्षासमेत गरिएको छ ।
विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्रै हिउँ पर्ने हुन्थ्यो भने हाल कुना-कन्दरामा हिउँ परेकाले पनि आलुखेती गरिरहेका किसानमा उत्साह बढेको छ । गत्लाङलाई विसं २०५० मा तत्कालीन कृषि विकास कार्यालय रसुवाले आलु पकेट क्षेत्र घोषणा गरेपछि यहाँका पाँच सयभन्दा बढी घरपरिवारका कृषकले नगदे बालीलाई प्राथमिकतामा राखेका छन् । हरेक वर्ष फागुनमा रोपेको आलु असारमा खन्ने र बजार पुर्याउने गरिएको छ ।






प्रतिक्रिया