धुन्चे । रसुवा जिल्लाको लाङटाङ क्यान्जिन भ्यालीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन २०२५ शनिबार सम्पन्न भएको छ । उक्त दौडमा पुरुषतर्फ सोलुखुम्बुका मिलन गुरुङ प्रथम भए भने महिलातर्फ नेपाल आर्मीका सुनसरी रोकाय प्रथम हुनुभएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले आयोजना गरेको दौड हिमालै हिमालको बिचमा रहेको क्यान्जिङ भ्याली अर्थात् क्यान्जिङ गुम्बाबाट सुरु गरिएको हो । स्वदेशी तथा विदेशी गरी कुल एक सय एक धावकको सहभागिता रहेको थियो । ८६ जना पुरुष र १५ जना महिलाको सहभागिता रहेको दौड तीन हजार आठ सय ५० मिटरको उचाइमा रहेको क्याङजिङ गुम्बादेखि १९ सय मिटरमा रहेको स्याफ्रुबेँसीसम्म ३२ किलोमिटरको दूरी रहेको थियो । दौड प्रतियोगिताको उद्घाटन क्याङजिङ गुम्बाबाट बिहान साढे नौ बजे बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले गर्नुभएको थियो । हेलिकोप्टरमा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित लाङटाङ पुग्नुभएका मन्त्री ठकुरीले उद्घाटनको अवसरमा आगामी वर्ष पनि दौडलाई निरन्तरता दिनका लागि सहयोग गर्ने बताउनुभयो । दौडमा पुरुषतर्फ प्रथम भएका सोलुखुम्बुका गुरुङले रु. एक लाख नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयोे । उहाँले २ः२६ः४६ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो । प्रतियोगितामा द्वितीय हुने पाँचथरका विशाल राईले नगद रु. ७५ हजारसहित प्रमाणपत्र र मेडल, तृतीय हुने सोलुखुम्बुका अर्जुन कुलुङ राईले नगद रु. ५० हजारसहित प्रमाणपत्र, मेडल, चौथो हुने सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले रु. ३० हजार नगदसहित प्रमाणपत्र र मेडल र पाँचौँ हुनेमा नेपाल आर्मीका गोपाल तामाङले रु. १५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा महिलातर्फ नेपाल आर्मीकी सुनसरी रोकाय पहिलो, नेपाल प्रहरीकी लाक्पा निमा शेर्पा दोस्रो, निर्मला राई तेस्रो, आङफुर्पा शेर्पा चौथो र प्रिया राई पाँचौँ हुनुभएको छ । प्रथमदेखि पाँचौँ स्थानसम्ममा आउनुभएकाले क्रमशः रु. एक लाख, ७५ हजार, ५० हजार, ३० हजार र १५ हजार नगदसहित, मेडल, प्रमाणपत्र पाउनुभएको छ । सुनसरी रोकायले उक्त दूरी २ः५५ः४३ सेकेन्डमा पार गर्नुभएको थियो । स्याफ्रुबेँसीमा भएको समापन कार्यक्रममा बागमती प्रदेशकी पूर्वमन्त्री एवम् पूर्वउपसभाप्रमुख तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया