प्रदेशको बजेट विदुरलाई धेरै, तारकेश्वरलाई कम

रसुवालाई रु. नौ करोड ६० लाख विनियोजन

प्रदेशको बजेट विदुरलाई धेरै, तारकेश्वरलाई कम
सज्जनउत्सुक सापकोटा
२ महिना अगाडी
    • बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्तुत गरेको छ, जुन अघिल्लो वर्षभन्दा दुई अर्ब रुपैयाँले बढी हो ।
    • नुवाकोटका १२ पालिकामध्ये विदुर नगरपालिकालाई सबैभन्दा बढी रु.आठ करोड ५२ लाख ९९ हजार र तारकेश्वर गाउँपालिकालाई सबैभन्दा कम रु.तीन करोड ६० लाख ६३ हजार विनियोजन गरिएको छ ।
    • रसुवाका पाँच पालिकालाई गरी कुल रु.२९ करोड ६ लाख दुई हजार बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी नौकुण्ड (रु. ६ करोड ४४ लाख ८३ हजार) र सबैभन्दा कम गोसाइँकुण्ड (रु. चार करोड ९६ लाख ७२ हजार) पाएका छन् ।
    • बजेटमध्ये ३८.६ प्रतिशत अर्थात् रु.२६ अर्ब चार करोड ४६ लाख चालू खर्च र ६१.४ प्रतिशत अर्थात् रु.४१ अर्ब ४३ करोड २६ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ ।
    • भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै, रु. २४ अर्ब ८० करोड १९ लाख विनियोजन गरिएको छ ।

हेटौँडा । बागमती प्रदेश सरकारले संवैधानिक व्यवस्थानुसार असार १ गते आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गरेको छ । आइतबार प्रदेश सरकारले आगामी आव २०८२/०८३ का लागि सार्वजनिक गरेको बजेटमा नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकामध्ये विदुर नपालाई धेरै र तारकेश्वर गापालाई कम विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा रु. ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक भएको बजेटअनुसार आगामी आवमा नुवाकोटका १२ पालिकामध्ये विदुरलाई सबैभन्दा बढी रु. आठ करोड ५२ लाख ९९ हजार र सबैभन्दा कम तारकेश्वरलाई रु. तीन करोड ६० लाख ६३ हजार विनियोजन गरिएको छ । प्रदेश सरकारले पालिकालाई समानीकरण ससर्त, विशेष अनुदान, समपूरक अनुदान, पुँजीगत शीर्षकमा अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदान वितरण गर्ने लक्ष्य राखेको छ । आगामी आवमा बेलकोटगढी नगरपालिकाले रु. आठ करोड आठ लाख ८९ हजार, ककनीले रु. ६ करोड ५९ लाख २१ हजार, किस्पाङ गाउँपालिकाले रु. ६ करोड ८२ लाख ४४ हजार, तादीले रु. ६ करोड दुई लाख ९२ हजार, दुप्चेश्वरले रु. पाँच करोड ७९ लाख ४१ हजार, पञ्चकन्याले रु. पाँच करोड ३० लाख ९२ हजार, म्यागङले रु. सात करोड ४८ लाख ७२ हजार, लिखुले रु. ६ करोड ६४ लाख सात हजार, शिवपुरीले रु. सात करोड ३१ लाख ७८ हजार, सूर्यगढीले रु. पाँच करोड ९१ लाख ६८ हजार वितरण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । नुवाकोटका लागि चालू र पुँजीगत गरी प्रदेशबाट आगामी वर्षको लागि रु. ७८ करोड १३ लाख ६६ हजार विनियोजनको प्रस्ताव गरिएको छ ।

बागमती प्रदेशले आगामी आवका लागि रसुवाका पाँच पालिकालाई चालू र पुँजीगत बजेट रु. २९ करोड ६ लाख दुई हजार वितरण गर्ने लक्ष्य राखेको छ । बागमतीले रसुवाको उत्तरगयालाई रु. पाँच करोड ३५ लाख दुई हजार, कालिकालाई रु. ६ करोड २७ लाख ३२ हजार, गोसाइँकुण्डलाई रु. चार करोड ९६ लाख ७२ हजार, नौकुण्डलाई रु. ६ करोड ४४ लाख ८३ हजार, आमाछोदिङ्मोलाई रु. ६ करोड दुई लाख १३ हजार अन्तरसरकारी वित्तीय हस्तान्तरण शीर्षकमा अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ । कानुनी प्रावधानअनुसार सङ्घ सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने ब्यवस्था छ । सोही व्यवस्थाअनुसार सातवटै प्रदेशले आइतबार बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लागि पनि प्रदेश सरकारले चालू बजेटभन्दा पुँजीगत बजेट धेरै छुट्याएका छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६७ अर्ब ४७ करोड ७३ लाख बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक वर्ष २०८१/०८२ को तुलनामा रु. दुई अर्ब बढी हो । उक्त बजेटमध्ये चालूतर्फ ३८.६ प्रतिशत अर्थात् रु. २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१.४ प्रतिशत अर्थात् रु. ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । बजेटको खर्च व्यहोर्ने स्रोततर्फ कर राजस्वबाट रु. २८ अर्ब ७८ करोड ८२ लाख, अन्य रु. ६ अर्ब ७९ करोड चार लाख सङ्कलन हुने अनुमान गरिएको छ । त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट रु. ४१ अर्ब ८१ करोड ९३ लाख, सञ्चित कोषबाट रु. १६ अर्ब ९८ करोड ९४ लाख प्राप्त हुनेछ । प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि सबैभन्दा धेरै रु. २४ अर्ब ८० करोड १९ लाख बजेट विनियोजन गरेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

सज्जनउत्सुक सापकोटा