+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयाधामको महत्त्व र आस्था फैलँदो

उत्तरगयाधामको महत्त्व र आस्था फैलँदो
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । नुवाकोट र रसुवाको सिमाना त्रिशूली र फलाखु नदीको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधामको महत्त्व र आस्था फैलिरहेको छ । वातावरणको स्वच्छता कायम गरी धार्मिक एवम् पर्यटन क्षेत्रको रूपमा विकास गर्ने अभिप्रायले उत्तरगयाधामको संरक्षण कार्यलाई स्थानीयवासी र जिल्लाका सरोकारवाला निकायले प्राथमिकता दिएकाले धामको महत्त्व र आस्था बढेको छ ।

Utsuk Books & Stationery

पवित्र तीर्थस्थल उत्तरगयाधाम केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, नेपालको इतिहास, संस्कृति, सभ्यता र वातावरणीय चेतनाको महत्त्वपूर्ण संगमस्थल रहेको छ । यस क्षेत्रको सरसफाइ र संरक्षणमा सबैको साथ र सहयोग अपरिहार्य रहेको उत्तरगया-५ का वडाध्यक्ष यमनाथ आचार्यले बताउनुभयो । उत्तरगया-५ कार्यालय, उत्तरगयाधाम संरक्षण समिति, वन उपभोक्ता महासङ्घ तथा डिभिजन वन कार्यालय रसुवाको संयुक्त आयोजनामा धामपरिसरको अघिल्लो शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको थियो । सरसफाइको क्रममा पाँच टनभन्दा बढी फोहोर सङ्कलन गरी व्यवस्थापन भएको वडाध्यक्ष आचार्यले बताउनुभयो । सरसफाइलाई निरन्तरता दिनेबारे सरोकारवाला निकायसँग छलफल भइरहेको स्थानीय बुद्धिजीवी गणेश श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । स्थानीय पुरोहित वसन्तकुमार लामिछानेका अनुसार धाम क्षेत्रको महत्त्व र आस्था फैलिरहेकोले संरक्षण र स्वच्छता कायम राख्न महिनाको एकपटक सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । सरसफाइको क्रममा सङ्कलन भएको प्लास्टिकका बोतल, कपडाका टुक्रा तथा अन्य विविध प्रकारका फोहोर हटाइएपछि धाम क्षेत्रको सौन्दर्यमा सुधार आएको छ । यस क्षेत्रको धार्मिक तथा प्राकृतिक महत्त्वलाई थप उजागर गर्न सरसफाइ र उक्त क्षेत्रमा सूचना बोर्ड राख्नुपर्नेमा डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले जोड दिनुभयो ।

उत्तरगयाको महिमा : हिन्दु धर्मशास्त्रअनुसार उत्तरगयाधामलाई ऐतिहासिक र धार्मिक भूमिका रूपमा लिइन्छ । बेत्रावतीस्थित उत्तरगया धाममा त्रिशूली नदी र फलाखु खोलाको सङ्गम रहेको छ । यस क्षेत्रमा स्नान, तर्पण, श्राद्ध तथा पिण्डदान गरेमा विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । स्कन्दपुराण तथा विभिन्न धार्मिक ग्रन्थमा नदी सङ्गमलाई देवभूमिको रूपमा वर्णन गरिएको पाइन्छ । यहाँ गरिने पितृकार्य, तर्पण र दाहसंस्कारले दिवंगत आत्मालाई मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । यही विश्वासका कारण रसुवा र नुवाकोटका दर्जनौँ गाउँका बासिन्दाले आफ्ना दिवंगत आफन्तको अन्त्येष्टि यही स्थलमा गर्ने परम्परा कायम राखेका छन् । बेत्रावतीधाममा तीनवटा प्रमुख मरणघाट सञ्चालनमा रहेका छन्, जहाँ वर्षौँदेखि अन्तिम संस्कार गरिँदै आएको छ ।

पितृ श्रद्धा र धार्मिक गतिविधिको केन्द्र  : उत्तरगयाधाम केवल मरण संस्कारको स्थल मात्र होइन । प्रत्येक वर्ष पुसेऔँसीका दिन हजारौँ श्रद्धालु पितृको सम्झनामा पिण्डदान गर्न यहाँ पुग्ने गर्छन् । भारतको गयाको शिरको रूपमा बेत्रावतीको उत्तरगयाको स्कन्दपुराण तथा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरेको छ । ठुली एकादशीमा विष्णु भगवान्को पूजा, फुलको डोरी नदीमा अर्पण गर्ने परम्परा, धार्मिक प्रवचन, सप्ताह ज्ञान महायज्ञ तथा अन्य आध्यात्मिक गतिविधि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । धामले धार्मिक संस्कारलाई पुस्तान्तरण गर्दै समाजमा आध्यात्मिक चेतना फैलाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

ऐतिहासिक भूमि : धाम धार्मिक दृष्टिले मात्र होइन, ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । स्थानीय जनविश्वासअनुसार नेपाल-तिब्बतबिचको युद्ध अन्त्य गर्न पुर्खाले यही क्षेत्रमा सन्धि तथा सम्झौता गरेका थिए । त्यसैले यो क्षेत्र नेपालको कूटनीतिक तथा ऐतिहासिक स्मृतिसँग समेत जोडिएको छ । सन्धि भएको खुसियालीमा यस क्षेत्रमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाउने चलन अझै कायम छ । जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेका अनुसार सडक सञ्जालको सहज पहुँचका कारण अहिले प्रमुख पर्वबाहेक सामान्य समयमा पनि भक्तजन तथा पर्यटकको आगमन बढ्दै गएको छ । धामको बृहत्तर विकासका लागि विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।

वातावरण संरक्षण : धार्मिक स्थलमा बढ्दो फोहोर व्यवस्थापन आजको प्रमुख चुनौती बनेको छ । स्थानीयवासीका अनुसार मानिसले जथाभावी नदी तथा खोलामा फोहोर फाल्ने र वर्षायाममा माथिल्लो क्षेत्रबाट बगेर आएका फोहोर समथर स्थानमा थुप्रिने कारण धाममा फोहोरको मात्रा बढ्दै गएको हो । यसपटकको सरसफाइ अभियानले केवल फोहोर हटाउने काम मात्र गरेको छैन, धार्मिक स्थललाई स्वच्छ राख्ने सामाजिक जिम्मेवारीबारे जनचेतना पनि अभिवृद्धि गरेको छ । वातावरण संरक्षण र धार्मिक आस्था एक-अर्काका परिपूरक पक्ष भएको सन्देश अभियानले दिएको छ । प्रदूषणले नदी, जैविक विविधता र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले नदी तथा संगम क्षेत्रको संरक्षण आजको आवश्यकता बनेको छ । स्वच्छ नदी, स्वच्छ वातावरण र स्वच्छ धार्मिक स्थलले मात्र भावी पुस्तालाई प्राकृतिक तथा सांस्कृतिक सम्पदा हस्तान्तरण गर्न अहिलेदेखि नै योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख तामाङले बताउनुभयो ।

सरकारी प्रयास : उत्तरगया पालिकाका अनुसार धाम क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा त्रिशूली नदी र फलाखु खोलाको सङ्गम क्षेत्रमा ग्याबिन जाली प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । यसले बाढी तथा कटान नियन्त्रणमा सहयोग पुर्याउनुका साथै धाम क्षेत्रको दीर्घकालीन संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । स्थानीयको पहलमा बगर क्षेत्रमा बर्सेनि धार्मिक प्रजातिका बिरुवा सार्ने कामका साथै थप मठमन्दिर निर्माण भइरहेको छ ।

आस्था, इतिहास, संस्कृति र प्रकृतिको अद्भूत सङ्गम बनेको धाम नेपालको महत्त्वपूर्ण धार्मिक सम्पदा हो । यहाँको पवित्रता जोगाउनु केवल स्थानीय समुदायको दायित्व मात्र होइन, सम्पूर्ण समाजको साझा जिम्मेवारी हो । नदी, वन र धार्मिक स्थलको संरक्षणसँगै स्वच्छ वातावरण कायम गर्न सकिएमा धाम भावी पुस्ताका लागि पूर्वजले हस्तान्तरण गर्ने सम्पति बन्नेछ । आवश्यकताअनुसार भौतिक पूर्वाधार बनाएर त्यस क्षेत्रमा अझ आकर्षक, व्यवस्थित र गौरवपूर्ण तीर्थस्थल बनाउन तीनै तहका सरकारको सहयोग र समन्वय आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने